१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

‘कप्तान चयन गर्ने विषय आन्तरिक हो’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले एउटा टिममा कसलाई कप्तान बनाउने भन्ने विषय आन्तरिक कुरा रहेको पनि बताइन्।

उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा खेलेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सावित्राले टिममा को कप्तान बनाउने भन्ने विषय आन्तरिक रहेको बताइन्। यसै छनोटअगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अञ्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे। उनले कप्तानमा सावित्रा र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए। एन्फाले नै कप्तानमा सुरुमा सिनियर खेलाडी रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो। तर, पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन गर्‍यो। पछि कप्तान बनाउने विषयमा टोलीका अफिसियल र प्रशिक्षकबीच विवाद भएको विषय सार्वजनिक भएको थियो।

प्रशिक्षक प्याट्रिकले साम्बा र टिम अफिसियलले रेनुकालाई कप्तान बनाउने चाहेको बारे सार्वजनिक भएको थियो। तर, दुवै चाहना नमिल्दा केही एन्फाले दुईपल्ट फरक कप्तान चयन भएको उल्लेख गरेको हो। कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको सावित्राले स्वीकार गरिन्। यद्यपि, उनले कप्तान छनोट गर्ने विषयमा विवाद हुनु सही नभएको र टोलीका सबै खेलाडी नै नेपाललाई अगाडि बढाउन सक्ने क्षमता रहेको रहेको धारणा राखिन्। ‘कप्तान बनाउने विषयमा विवाद हुनु राम्रो होइन। तर त्यस्तो घटना भयो। त्यसले गर्दा केही दिन सुत्न पनि सकिनँ। यसले मलाई छुट्टै किसिमको दबाब पनि भयो। सहकर्मीले सहयोग गरे,’सावित्राले भनिन्।

यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ। आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ। प्लेइङ एलाभेन होस् बेन्चका खेलाडी सबै कप्तान जस्तै भएर खेल्नसक्ने क्षमता रहेको उनको विश्वास छ। सबैजना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ। यद्यपि, उनले कप्तानको जिम्मेवारी पाउँदा खुसीसँगै केही दबाब पनि महसुस गरेको बताइन्। 

हारपछि पनि सकारात्मक उर्जा

सावित्राले छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन्। छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाल छनोट हुन असफल भएको हो। यससँगै नेपाली टोली सन् १९९९ पछि एसियन कप खेल्ने अवसरबाट बन्चित हुन पुग्यो। यसपल्ट नेपाललाई एसियन कप खेल्न सक्ने दाबेदारका रूपमा हेरिएको थियो। तर, पेनाल्टी सुटआउटमा कप्तान साम्बासँगै गोलकिपर अञ्जना रानामगर असफल हुँदा नेपाल पराजित हुन बाध्य भयो। यसै छनोटको पूर्वसन्ध्यामा कप्तानमा नियुक्त भएकी सावित्राले सफलता नमिले पनि धेरे सकरात्मक उर्जा लिएर फर्किएको बताइन्। 

‘सुरुमा उज्बेकिस्तानको वातावरणमा भिज्न गाह्रो भयो। हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेल्यौं। तर, हार सामना गर्नु परेको छ। यहाँबाट पनि सकारात्मक उर्जा लिएका फर्किएका छौं,’साम्बाले भनिन्। टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल हुँदा केही सकारात्मक पक्ष प्राप्त भएको उनको विश्वास छ। कप्तान साबित्राले सुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरिन्। नेपालले फिफा वरीयतामा आफूभन्दा ४९औं स्थान माथि रहेको उज्बेकिस्तानलाई कडा चुनौती दिएको थियो। फिफा वरीयतामा नेपाल १००औं र उज्बेकिस्तान ५१औं स्थानको टोली हो।

यस्तो टोलीसँग पनि राम्रो प्रदर्शन गरेकाले पनि यो छनोटबाट सकारात्मक पक्ष प्राप्त भएको उनी बताउँछिन्। उनले आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गरेको बताइन्। यद्यपि, साम्बाले छनोट हुन नसक्दा आफ्नो टोलीले ठूलो अवसर गुमाउनुपरेको प्रतिक्रिया दिइन्। ‘यो प्रतियोगिता हाम्रो लागि ठूलो अवसर हो। तर, यसलाई सही तरिकाले सदुपयोग गर्न सकेनौं। छनोटको अन्तिम खेलमा ५०/५० को अवसर थियो। सफल भएनौं। यसले गर्दा भविष्यमा पिरोल्नेछ,’उनले भनिन्। खेलको सुरुआतमै गोल बेहोरेपछि समालिन गाह्रो भएको उनको बुझाइ छ। त्यसमा अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन्।

प्रशिक्षक प्याट्रिकले खेलमा फर्कन सक्छौं भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ। छनाटको अन्तिम खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो। तर, पहिलो हाफको थप समयमा उज्बेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो। दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो। निर्धारित समयमा खेल बराबरीपछि प्रतियोगिताको नियमअनुरूप सीधै पेनाल्टीतर्फ धकेलिएको थियो। तर, पेनाल्टी सुटआउटमा नेपाल सफल भएन र ४–२ को हार सामना गर्‍यो। यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो। 

दक्षिण एसियाली राष्ट्रबाट बंगलादेश र भारत छनोट हुन सफल भए। यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो। त्यसमध्ये सावित्रा एक्लैले ९ गोल गरेकी थिइन्। तर पनि नेपालकी सबैभन्दा सफल फुटबलर साम्बा ४१ वर्षे इतिहास बोकेको नेपाली महिला टोलीलाई यादगार नतिजा दिलाउन भने सफल भइनन्। एन्फाका महासचिव किरण राईले छनोट हुन सफल नभए पनि नेपालले धेरै राम्रो खेलेको प्रतिक्रिया दिए। उनले निरन्तर महिला फुटबलका कार्यक्रम अगाडि बढाउँदै उनीहरूको यो प्रदर्शनमा थप विकासको माध्यम खडा गर्ने विश्वास पनि व्यक्त गरे। त्यसका लागि महिला लिग, महिलाको फुटबल एकेडेमी र अन्य कार्यक्रम गर्ने एन्फा महासचिव राईको भनाइ छ।

प्रकाशित: २४ असार २०८२ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App