क्लब विश्वकपबाट बहिर्गमनपछि बोरुसिया डर्टमन्डका प्रशिक्षक निको कोभाचले फुटबलको प्रतिस्पर्धाका लागि मेटलाइफ स्टेडियम योग्य नरहेको भन्दै तीव्र आलोचना गरेका छन्।
क्लब विश्वकपको क्वार्टरफाइनल खेलमा शनिबार उनको टोली डर्टमन्ड स्पेनिस क्लब रियल मड्रिडसँग ३–२ ले पराजित हुँदै यस प्रतियोगिताबाट बाहिरिएको थियो। यससँगै उनले हारपछि खेलबारे चर्चा गर्नुभन्दा पनि स्टेडियमको स्तरमा कमी रहेको भन्दै आलोचना गरेका छन्।
मेटलाइफ स्टेडियम फुटबलको प्रतिस्पर्धाका लागि भन्दा पनि गल्फ खेल्न उपयुक्त स्थान रहेको जस्ता प्रतिक्रिया कोभाचले दिएका हुन्। अत्यधिक गर्मीले न्युयोर्क क्षेत्रमा फुटबलको ठूला प्रतिस्पर्धा गराउन उपयुक्त नभएको भन्दै जर्मन क्लबका प्रशिक्षक कोभाचले आलोचना पनि गरेका छन्। ‘यो मैदान गल्फ ग्रिन जस्तो छ। यहाँ पट गर्न चाहिँ सहज हुन्छ,’कोभाचले भने,‘ यहाँ खेल्न योग्य र सहज छैन।’
उनले उक्त मैदान बुन्डेसलिगा र आफ्ना अन्य दुई स्टेडियम भन्दा धेरै फरक र खेल्न कठिन हुने खालको रहेको बताएका छन्। डर्टमन्डले मेटलाइट स्टेडियममा समूहचरणको खेल पनि खेलेको थियो। जहाँ क्लब विश्वकपको सेमिफाइनल र फाइनल हुनेछन्। साथै यो अर्को वर्ष विश्वकपको उपाधि भिडन्त हुने मैदान पनि हो। तर यसलाई लिएर अहिलेदेखि नै आलोचना सुरु भएको छ। जर्मन क्लबले सिनसिनाटीको टिक्युएल स्टेडियममा दुई खेल र एटलान्टाको मर्सिडिज बेन्ज स्टेडियममा राउन्ड अफ १६ को खेल खेलेको थियो। ‘सबैले देख्नुभयो नै होला, मैदानमा पानी दिने व्यवस्था पर्याप्त र राम्रो थिएन। किनकि त्यहाँ यसका लागि उपकरणहरू छैनन्,‘कोभाचले भने,‘जब मैदान धेरै सुख्खा हुन्छ, खेल्न सहज हुँदैन। माटो नै टाँसिन्छ।’
कोभाचको आलोचनाबारे फिफाले अहिले कुनै प्रतिक्रिया नदिने उल्लेख गरेको छ। दिउँसो चार बजेको समयमा पनि पूर्वी रदरफोर्डको तापक्रम ८६ डिग्री फरेनहाइट (३० डिग्री सेल्सियस) थियो। अर्को वर्षको विश्वकप पनि यस्तै वा बढी तापक्रममा हुने अनुमान गरिएको छ। विश्वकपका ११ भेन्युहरू नै अमेरिकामा छन्।
यहाँका धेरैजसो मैदानमा छत वा एयर कन्डिसनिङ पनि छैन। सन् १९९४ को विश्वकपमा ५२ मध्ये २८ खेलहरू दिउँसो १२ देखि २ बजेसम्म भएका थिए। जुन युरोपेली दर्शकहरूको लागि अनुकूल थियो। अर्को वर्ष हुने विश्वकपमा १०४ खेल समावेश छन्। डिसेम्बरमा ‘ड्र’ पछि समूहचरणका खेलहरू निर्धारण गरिनेछ।
‘हामीले सिनसिनाटीमा दुई पटक खेल्यौं। पहिलो पटक १२ बजे खेल थियो। दोस्रो पटक तीन बजे खेल थियो र मैदानमा तापक्रम लगभग ४५ डिग्री (११३ डिग्री फरेनहाइट) थियो,‘कोभाचले भने, ‘जब तापक्रम ४५ डिग्री हुन्छ, यो आश्चर्यजनक हुन्छ। यो मौसम कसैका लागि खेल्न धेरै गाह्रो हुन्छ। तर पनि खेलाडीहरूले खेलहरू खेल्नैपर्ने हुन्छ।’
उनले मड्रिडसँगको खेलमा पनि खेल्न सहज हुने मौसम नरहेको बताएका छन्। ‘आज, हामी खेल्दा ३५ डिग्री (९५ डिग्री फरेनहाइट) थियो। साँच्चै भन्दा यो मौसम धेरै राम्रो हैन। तर, हामीले खेल्नै पर्दथ्यो।’ उनले धेरै गर्मी हुने भएकाले खेलको समय तालिका पछाडि सार्न अनुरोध गरेका छन्।
‘खेल सुरु हुने समय केही ढिलो हुनुपर्छ भन्ने मेरो सुझाव छ। ताकी गर्मीले खेलको गतिलाई असर नगरोस्,’डर्टमन्डका प्रशिक्षक कोभाचले भने, ‘एक समर्थकको रूपमा सबैजना तीव्र, आक्रामक, उच्च गतिको फुटबल हेर्न चाहन्छन्। जुन यो मौसममा सम्भव हुँदैन। त्यसैले जब धेरै तातो हुन्छ, यस्तो प्रकारको फुटबल खेल्न गाह्रो हुन्छ।’
प्रकाशित: २३ असार २०८२ ०७:५४ सोमबार





