२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

बुकुरोकाे ट्रेलर सार्वजनिक

महाशिवरात्रिको छेको पारेर आउँदाे फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ।

ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोकले दर्शकमाझ उत्साह थपेको छ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्त्व समेटेको छ। सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी लगायतका कुरा चित्रण गरेको छ।

यो सिनेमाको करिब ३ मिनेट ३३ सकेण्ड लामो ट्रेलरले हामीलाई पात्रको मनोदशा र गतिसँगै यात्रा गराउँछ। मानवीय सम्बन्धका सूक्ष्मता चित्रण गरिएको ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पनि पार्छ। यो सिनेमालाई विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक बताइएको छ।

सिनेमामा सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको छ। यो सिनेमाबाट निर्देशक सिंह ९ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए।

पछिल्लो समय सामाजिक पारिवारिक सिनेमाले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’ को विशुद्ध पारिवारिक कथा दर्शकले रुचाउने विश्वास निर्देशक सिंहको छ।

विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’ का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन्। निर्माण टिमले यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरेकाे छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ। निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुविसेन सिंहले निर्माण गरेकी हुन्।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आइड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो।

किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेको सिनेमाको गीतमा रञ्जीत गजमेर, वसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति विमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न पाइनेछ।

प्रकाशित: २३ माघ २०८२ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App