नेपाल साइक्लिङ संघमा सुदीप पौडेलको अध्यक्षतामा कोषाध्यक्ष पदमा बाहेक १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।
लाजिम्पाटमा शनिबार सम्पन्न साइक्लिङ संघको ३२औं साधारणसभा तथा निर्वाचनबाट पौडेलको अध्यक्षतामा १३ पदमा निर्विरोध निर्वाचित भएको हो । कोषाध्यक्ष पदमा भने कृष्णगोपाल श्रेष्ठ विजयी भए । उक्त पदमा चुनाब भएको थियो ।
कृष्णगोपालले २४ मत र संगीत श्रेष्ठले दुई मत पाए । कुल २७ मत खसेको मध्ये एक मत भने बदर भएको थियो ।
वरिष्ठ उपाध्यक्षमा संघर्ष विष्ट र महासचिवमा रञ्जन राजभण्डारी निर्वाचित भए। आगामी चार वर्षका लागि पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
सचिव पदमा देवेन्द्र बस्न्यात चयन भएका छन् । अन्य ९ सदस्यीय पदमा पनि निर्वाचन भएन । अन्य सदस्यमा विकास अधिकारी, चन्द्रप्रसाद चौधरी, बलबहादुर गुरुङ, दीपकबाबु कँडेल, इश्वरीप्रसाद घिमिरे, पदमबहादुर श्रेष्ठ, सनतकुमार शर्मा, मनीषा राजकर्णिकार र अप्सरा बस्नेत निर्वाचित भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको नेतृत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले उक्त निर्वाचन गराएका हुन्। उक्त समितिमा राखेप संघसंस्था समन्वयन शाखा प्रमुख चन्द्रकुमार राई र खेलकुद विकास विभागका अधिकृत सानुराजा केसी थिए।
अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा एसियन साइक्लिङ कन्फिडेरेसन (एसिसी) अध्यक्ष अमरजित सिंह पनि उक्त निर्वाचनमा उपस्थित थिए। गत वर्ष चैत २९ गते बसेको राखेपको १२२औं बोर्ड बैठकले नेपाल साइक्लिङ संघ विघटन गर्दै तदर्थ कमिटीको बनाएको थियो।
तीन महिनाभित्र निर्वाचन गराउने समयसीमा दिँदै पौडेलको संयोजकत्वमा उक्त तदर्थ समिति बनाइएको हो । त्यसअघि उक्त साधारणसभा तथा निर्वाचनको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए।
प्रकाशित: २२ असार २०८२ ०६:५५ आइतबार