इङ्लिस क्लब लिभरपुलले आफ्ना फुटबलर स्वर्गीय डिएगो जोटाको परिवारलाई करार अवधिभरको रकम भुक्तानी गर्ने भएको छ।
सन् २०२२ मा लिभरपुलसँग पाँच वर्षको करार थपेका जोटाले प्रति हप्ता १४० हजार युरो पाउने गरी सम्झौता गरेका थिए। यो रकम वार्षिक लगभग ७.२ मिलियन युरो हुन आउँछ।
क्लबले जोटाको परिवारलाई करिब १४.५ मिलियन युरो भुक्तानी गर्नेछ।
जोटा र उनका भाइ आन्द्रेको बिहीबार बिहान स्पेनमा भएको कार दुर्घटनामा निधन भएको हो। जोटाको निधन उनको बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँगको विवाहको दुई हप्तापछि भएको हो।
उनीहरूका तीन सन्तान छन्। पोर्चुगिजस्टार जोटा सन् २०२० मा वोल्भ्सबाट लिभरपुलमा अनुबन्धित भएका थिए र १८२ खेल खेल्दै ६५ गोल गरेका थिए।
जोटाले लिभरपुलसँग गत सिजन प्रिमियर लिगको उपाधि जितेका थिए र यसअघि एफए कप र दुई लिग कप पनि जितेका थिए।
प्रकाशित: २१ असार २०८२ १५:३१ शनिबार