११ असार २०८३ बिहीबार
image/svg+xml
खेल

अन्तिम खेल दुवै टोलीका लागि निर्णायक

समूहको अन्तिम तथा तेस्रो खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया बुधबार एस्टाडियो मोन्टेरेयमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ।  

यही समय (बिहान) मा समूहको अर्को खेलमा चेकिया र मेक्सिकोबिच प्रतिस्पर्धा हुने तय छ।  समूहचरणको अन्तिम खेल भएकाले दुवै टोलीका लागि यो निर्णायक क्षण बन्नेछ।  दक्षिण कोरिया नकआउट चरणको ढोकानजिक उभिएको छ।मेक्सिकोसँगको हेड टु हेड नतिजाका कारण समूहविजेता बन्ने सम्भावना समाप्त भए पनि दोस्रो स्थान सुरक्षित गर्ने सम्भावना बलियो छ। दक्षिण कोरियालाई समूह उपविजेता बन्ने सम्भावना ८० प्रतिशत देखाएको छ। त्यसले एसियाली समर्थकलाई उत्साहित पनि बनाएको छ।  यस समूहको उपविजेताले अन्तिम ३२ मा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। उक्त वरीयताका लागि जहाँ सहआयोजक क्यानडा, स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जेगोभिना प्रतिस्पर्धामा छन्।  दक्षिण कोरियाका लागि समीकरण स्पष्ट छ।

चेकियाले मेक्सिकोलाई हराए पनि दक्षिण अफ्रिकाविरुद्ध बराबरी पनि कोरियाका लागि पर्याप्त हुनेछ।  तर यदि दक्षिण कोरिया पराजित भयो र चेकियाले मेक्सिकोमाथि जित निकाल्यो भने एसियाको सबैभन्दा सफल राष्ट्रको यस विश्वकपमा यात्रा समूहचरणमै समाप्त हुनेछ। विश्वकपको उद्घाटन खेलमा मेक्सिकोसँग गल्तीले भरिएको प्रदर्शन गर्दै पराजित भएपछि धेरैले दक्षिण अफ्रिकालाई बाहिरिने टोलीका रूपमा हेरे। दोस्रो खेलमा चेकियाविरुद्ध पहिलो हाफ सकिँदा पनि उनीहरू हारको स्थितिमा थिए। विश्वकपबाट बाहिरिने अवस्था लगभग निश्चितजस्तै देखिन्थ्यो  तर दोस्रो हाफमा दक्षिण अफ्रिकाले उल्लेखनीय सुधार गर्दै खेल बराबरीमा टुङ्ग्यायो।  नकआउट चरणमा पुग्ने सम्भावना कम अर्थात् १९.७ प्रतिशत मात्र भए पनि ढोका पूर्ण रूपमा बन्द भइसकेको छैन।

त्यसका लागि दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई हराउनैपर्छ।  चेकियाविरुद्ध दोस्रो हाफमा देखाएको आत्मविश्वास र आक्रामक खेल नै उनीहरूको प्रेरणाको स्रोत बन्न सक्छ। चेकियासँगको बराबरीमा दक्षिण अफ्रिकाले ५०८ पास पूरा गरेको थियो। जुन विश्वकप इतिहासमा उनीहरूको सबैभन्दा धेरै पास संख्या हो।  ६१.७ प्रतिशत बल नियन्त्रण पनि विश्वकपमा उनीहरूको दोस्रो उत्कृष्ट तथ्यांक बन्यो।  यसअघि सन् १९९८ मा डेनमार्कविरुद्ध उनीहरूले ६२.३ प्रतिशत बल नियन्त्रण गरेका थिए।  त्यही खेलमा मिडफिल्डर तेबोहो मोकोएनाले पाँच अवसर सिर्जना गरे र १२० पटक बल छोए।  विश्वकप इतिहासमा एउटै खेलमा यी दुवै उपलब्धि हासिल गर्ने उनी पहिलो अफ्रिकी खेलाडी हुन्।

तर दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो समस्या अझै पनि रक्षापंक्ति नै हो।  विश्वकपमा खेलेका ११ खेलमध्ये उसले एक खेलमा मात्र क्लिन सिट राख्न सकेको छ।  पछिल्ला ६ खेलमा भने एकपटक पनि गोल नखाई खेल समाप्त गर्न सकेको छैन। अफ्रिकाको कमजोर रक्षाको फाइदा उठाउन सक्ने खेलाडीमध्ये सबैभन्दा ठूलो नाम कप्तान सन ह्युङ मिन हुन्।  उनी यस खेलमा मैदान उत्रिए भने यो उनको १३औं विश्वकप खेल हुनेछ। दक्षिण कोरियाका लागि वर्तमान प्रशिक्षक होङ म्युङ बो (१६) र पार्क जी सुङ (१४) ले मात्र सनभन्दा बढी विश्वकप खेल खेलेका छन्। अर्का महत्त्वपूर्ण खेलाडी ली काङ इन हुन्।  चेकियाविरुद्धको पहिलो खेलमा लीले सबैभन्दा धेरै अवसर सिर्जना गरेका थिए र सबैभन्दा धेरै सफल ड्रिबल पूरा गरे।

दोस्रो खेलमा मेक्सिकोसँगको हारमा पनि उनले यही उपलब्धि दोहोर्‍याए।  कोरियाको इतिहास निकै उत्साहजनक छ। विश्वकप समूहचरणका पछिल्ला दुई अन्तिम खेलमा कोरिया विजयी भएको छ। सन् २०१८ मा जर्मनीलाई २–० र २०२२ मा पोर्चुगललाई २–१ ले हराएको थियो। अफ्रिकाका समर्थकहरूले यो तथ्य सुन्न चाहँदैनन् होला। यदि यसपटक पनि जित निकाल्न सफल भयो भने दक्षिण कोरिया लगातार दोस्रो विश्वकपमा नकआउट चरण पुग्नेछ।  २०२२ भन्दा पहिलेका १० विश्वकप सहभागितामध्ये उसले दुईपटक मात्र समूह चरण पार गर्न सकेको थियो।  दक्षिण अफ्रिका र दक्षिण कोरियाबीच विश्वकपमा मात्र होइन, अन्तर्राष्ट्रिय फुटबलमै यो पहिलो प्रतिस्पर्धा हुनेछ।

कोरियाले अफ्रिकी टोलीविरुद्ध विश्वकपमा खेलेका चार खेलमध्ये एक खेल जितेको छ।  सन् २००६ मा टोगोलाई २–१ ले हराएको कोरियाले त्यसपछि नाइजेरियासँग २–२ को बराबरी खेलेको थियो भने अल्जेरिया (२०१४) र घाना (२०२२) सँग पराजित भएको इतिहास छ।  अफ्रिकी टोलीविरुद्ध कोरियाका चार विश्वकप खेलमा कुल १८ गोल भएका छन्, अर्थात् प्रतिखेल औसत ४.५ गोल। एक विश्लेषणले ५६.२ प्रतिशतमा दक्षिण कोरियाको जित निस्किएको छ।  जसले उसलाई नकआउट चरणमा पुर्‍याउनेछ। बराबरीको सम्भावना २३.५ प्रतिशत छ भने दक्षिण अफ्रिकाको ऐतिहासिक जितको सम्भावना २०.३ प्रतिशत रहेको छ।  विश्वकपको समूहचरण समाप्तितिर पुग्दै गर्दा मोन्टेरेयलमा हुने यो खेल दक्षिण कोरियाका लागि अवसर र दक्षिण अफ्रिकाका लागि अन्तिम आशाको युद्ध बन्नेछ।  

प्रकाशित: ११ असार २०८३ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App