२४ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

लमजुङको राइनास नगरपालिका-६ फूलबारीमा घरमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

आफ्नै घरको खाटमुनि शव फेला परेकी उनको हत्या आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

शनिबार राति करिब ९ बजे मृतककै घरमा भाडामा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।

करिब २ वर्षदेखि सोही घरमा बस्दै आएका मगर कामको खोजीमा मनाङ गएर शनिबार घर फर्कँदा वृद्धालाई खाटमुनि मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका हुन्।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली समेत घटनास्थलमा खटाइएको छ।

‘प्रारम्भिक रूपमा हेर्दा घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ। घटना शंकास्पद रहेकाले हत्याको आशंकामा सूक्ष्म अनुसन्धान अघि बढाएका छौं,’ प्रहरी स्रोतले भन्यो।

मृतक सार्कीका श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको र छोरीको पनि विवाह भइसकेकाले उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

पुलिसले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ। घटनामा प्रयोग भएको हतियार, वारदातको कारण र संलग्न व्यक्तिबारे गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०८३ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App