नेपालमा लागूऔषध कारोबारविरुद्ध प्रहरीको अभियान गत आर्थिक वर्षमा अझ तीव्र देखिएको छ।
एक वर्षको अवधिमा ९ सय ९३ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता हुँदा १ हजार ७ सय ६८ जना पक्राउ परे। पक्राउ परेकामध्ये १ हजार ३ सय २५ जनाविरुद्ध अभियोग दर्ता गरी अदालतमा पेस गरिएकोमा १ हजार १ सय १३ जना अर्थात् ८४ प्रतिशत प्रतिवादी पुर्पक्षका लागि थुनामा गएको लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकले देखाएको छ। जसमा २ सय १२ जना भने धरौटीमा छुटेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा पक्राउ पर्ने व्यक्तिको संख्या ५.५५ प्रतिशतले वृद्धि भएको छ।
यसले लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको भए पनि प्रहरीको निगरानी र कारबाही थप प्रभावकारी भएको संकेत गरेको छ।
गत आर्थिक वर्षमा प्रहरीले बरामद गरेको विभिन्न प्रकारका लागूऔषधको अनुमानित बजार मूल्य ८५ करोड ७७ लाख ५४ हजार ८ सय ४० रुपैयाँ पुगेको छ।
बरामद लागूऔषधमध्ये सबैभन्दा धेरै मूल्य कोकेनको रहेको छ। प्रहरीले १३.३४७ केजी कोकेन बरामद गरेको छ, जसको अनुमानित बजार मूल्य मात्रै ४६ करोड ७१ लाख ४५ हजार रुपैयाँ रहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख सुवास चन्द्र बोहोराले जानकारी दिए।
उनका अनुसार कोकेनको प्रति ग्राम मूल्य करिब ३५ हजार रुपैयाँसम्म पर्छ। यस अवधिमा प्रहरीले ७.८०० केजी सेतो हेरोइन, २३.१४१ केजी खैरो हेरोइन, ४३ केजी अफिम, ४१.५ केजी चरेस, २०४ केजी थाई गाँजा तथा १ हजार ६ सय ३ केजी गाँजा समेत बरामद गरेको छ।
लागूऔषध कारोबारबाट आर्जन भएको आशंकामा प्रहरीले १ करोड १३ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ नगद समेत बरामद गरेको छ। यस्तै, कारोबारमा प्रयोग भएका १ सय १५ वटा डिजिटल तराजु, ७ सय ५७ वटा मोबाइल फोन, १५ वटा चारपांग्रे तथा ८३ वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ।
लागूऔषध कारोबारीको सञ्जाल केवल तस्करीमै सीमित नरहेको तथ्य पनि प्रहरीको बरामद सूचीले देखाएको छ। कारबाहीका क्रममा ५ नाल पेस्तोल र २९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ। यसले लागूऔषध कारोबार संगठित अपराध र हतियारको प्रयोगसँग समेत जोडिएको संकेत गरेको छ।
लागूऔषध मुद्दामा अदालतले पनि कडा दृष्टिकोण अपनाएको देखिएको छ। अभियोगसहित अदालत पुगेका प्रतिवादीमध्ये ८४ प्रतिशत पुर्पक्षका लागि थुनामा जानुले अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेका प्रमाण बलियो रहेको र अदालतले लागूऔषध अपराधलाई गम्भीर रूपमा लिएको देखाउँछ।
नेपालमा लागूऔषध कारोबार अझै संगठित रूपमा फैलिने प्रयास भए पनि प्रहरीको निगरानी, अनुसन्धान र कारबाही क्षमता पनि विस्तार भएको पाइएको छ।
विशेष गरी उच्च मूल्यको कोकेन ठुलो परिमाणमा बरामद हुनु नेपाल अन्तर्राष्ट्रिय लागूऔषध तस्करीको ट्रान्जिट मार्गका रूपमा प्रयोग हुन सक्ने जोखिम अझै कायम रहेको संकेत गर्दछ।
लागूऔषधमा पक्राउ संख्या बढ्नुले अब नेपालमा लागूऔषधको माग घटाउने, युवालाई दुर्व्यसनबाट जोगाउने, सीमा नाकामा निगरानी सुदृढ गर्ने र अन्तर देशीय तस्करी सञ्जालमाथि संयुक्त कारबाही प्रभावकारी बनाउनुपर्ने आवश्यक देखिन्छ।
प्रकाशित: २४ श्रावण २०८३ १५:३४ आइतबार





