१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ। ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माणकार्य आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो। 

उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताए। ‘यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौं,’ उनले भने, ‘सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो।’

खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो। अन्नपूर्ण गाउँपालिकाबाट आव २०७६/७७ देखि २०८१/८२ सम्म रु ३४ लाख र गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख गरी रु ३९ लाख विनियोजन भएको थियो।

चालु आवमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख र रु एक लाख १८ हजार १४८ बराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताए। व्यवस्थित खेलमैदान निर्माण भएपछि खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ। एकतिस मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लबका अध्यक्ष बेगबहादुर पाइजा पुनले बताए।

यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो। कुनातिर ढुंगाको सिँढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट छ भने बाँकी तीनतिर तारजालीले घेराबार भएको छ।

खेलमैदान निर्माणस्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय शेरप्रताप पाइजा र पावती पाइजाले १० आना जग्गा उपलब्ध गराएका थिए। पैतालीस घरपरिवार भएको दोसल्ले गाउँका युवायुवती र पौढहरू भलिबल र बास्केटबल खेल्ने गर्छन्। अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले दोसल्लेसहित साविक हिस्तान गाविसका पाँचवटै टोलमा पक्की खेलमैदान निर्माण गरिएको जानकारी दिए। घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेलमैदान निर्माण भएको थियो।

‘यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एउटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौं,’ उनले भने, ‘खेलकुदको प्रवर्द्धन र पुरानो चलनको निरन्तरताका साथै मेलालाई व्यवस्थित गर्न वडाभित्र वर्षमा एउटामात्र मेला आयोजना गर्ने नियम बनाइएको हो।’ रासस

प्रकाशित: २० असार २०८२ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App