नेपाल अपराजित रहँदै एसिसी मेन्स यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा आज भुटानलाई २९८ रनको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
लिग चरणमा नेपालले यसअघि सिंगापुर, जापान तथा इण्डोनेसियालाई हराएको थियो। नेपाल चारै खेलमा विजयी भएको हो । नेपाल रहेको समूहबाट सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा विपिन शर्माले आफ्नो १० ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टले दुई-दुई विकेट झारे ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवले १६८ रनको मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो । रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको पारी खेले । जोए थापाले ६१ र शिवान्शं बजगाईंले ५४ रन बनाए ।
भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्र सहभागी छन् । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रकाशित: १७ असार २०८२ १३:४६ मंगलबार





