२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

नौ खेलकर्मीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमबार कुल नौ खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे। 

सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो। खेलाडीतर्फको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमती बिष्ट र अनुजा कुलुङ राई एवं फुटबलकी दीपा शाही पुरस्कृत भए।

मानमती र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन्। प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए। पेरिसमा सम्पन्न पारालिम्पिकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक थिए। निर्णायकतर्फ बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोल पुरस्कृत भए। सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँ पत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मानित भए। उनी नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित भएका हुन्। 

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ कोसी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्फ नमिता दाहाल पुरस्कृत भएका छन्। घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्ण पोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन्। 

गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेसबाट शरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ, कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्फबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे। प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे। खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए । 

प्रकाशित: १७ असार २०८२ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App