आफूभन्दा बलियो र अनुभवी उब्जेकिस्तान रहेको समूहमा विजेता बन्ने लक्ष्य र सपना लिँदै नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोटको यात्रा गर्दै छ। उज्बेकिस्तानमा आगामी जुन २९ देखि जुलाई पाँचसम्म एएफसी महिला एसियन क्वालिफायर हुँदै छ।
यो बाटो १२ राष्ट्रले सन् २०२६ मार्चमा अस्ट्रेलियामा खेल्ने महिला एसियन कपको हो। जसका लागि नेपाली महिला टोलीले आफ्नो समूह ‘एफ’ मा रहेको सबैभन्दा बलियो र अनुभवी उज्बेकिस्तानलाई हराउनुपर्नेछ। यो समूहमा रहेका अन्य टोली श्रीलंका र लाओस पनि सहज हुने छैनन्। तर, तुलनात्मक रूपमा हेर्न हो भने नेपालको एसियन कप खेल्ने सपनामा सबैभन्दा कठिन प्रतिद्वन्द्वी उज्बेकिस्तान नै हो। उज्बेकिस्तानले सन् २०२४ र २५ मा गरेर विश्व महिला फुटबलका बलिया टोली फ्रान्ससँगै जाम्बिया, चीन, दक्षिण कोरिया र बेलारुसजस्ता माथिल्लो स्तरका टोलीसँग खेल्ने गरेको छ।
लगातार धेरैभन्दा धेरै प्रतिस्पर्धा यो टोलीले पाएको छ। त्यसैले यो टोली बलियो र अनुभवी छ। तर, नेपालले महिला फुटबल टोलीको इतिहास भर्खर ४० वर्षको हो। यसबीच नेपाली महिला टोलीले सय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि खेल्न पाएको छैन। यो आँकडा नेपालले यही छनोटबाट भेट्टाउँदै छ। एसियन कपमा उब्जेकिस्तानले पाँचपल्ट र नेपालले तीनपल्ट खेलेका छन्। उज्बेकिस्तानले सन् २००३ र नेपालले १९९९ यता यो प्रतिस्पर्धा खेलेका छैनन्। यद्यपि, तुलनात्मक रूपमा हेर्ने हो भने उज्बेकिस्तान बलियो टोली हो। अहिलेसम्म नेपाली टोलीले उज्बेकिस्तानलाई हराउन सकेको छैन। सन् २०१९ मा नाडेज्दा कपमा खेलेको थियो।
करिब ६ वर्षपछि फेरि नेपाली महिला टोली उब्जेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। त्यो पनि एसियन कपमा छनोट हुने आशा र सपना बोक्दै नेपाली टोलीले यो यात्रा थाल्दै छ। यस छनोटको समूह ‘एफ’ मा नेपाल र उज्बकिस्तानसहित लाओस र श्रीलंका छन्। नेपालले जुन २९ मा पहिलो खेल लाओससँग खेल्नेछ। नेपाली समर्थक र नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) यसपल्ट नेपाली टोलीले यो छनोट चरण पार गरेर एसियन कप खेल्ने आशा राखेका छन्। नेपाली टोलीमा पनि लामो समयको प्रतीक्षा पूरा गर्ने लक्ष्यमा छन्।
तर, यसै छनोटका लागि नेपाली टोलीमा भित्र्याइएका प्रो लाइन्सेन्स प्रशिक्षक प्याट्रिक डे वाइल्डले भने छनोट नै हुन्छौं भन्न नसकिने स्पष्ट पारेका छन्। उनले सपना र लक्ष्य आफ्नो पनि रहेको तर एकपल्ट आफ्नो वास्तविकता पनि हेर्नुपर्ने उल्लेख गरे। उज्बेकिस्तान फिफा वरीयतामा नेपालभन्दा धेरै माथि रहेको र त्यसमा पनि उसले विश्व फुटबलका ठूला राष्ट्रहरूसँग नियमित खेलिरहेको प्रशिक्षक प्याट्रिकले औंल्याएका छन्। त्यस कारण उसलाई कमजोर मान्न नहुने र नेपाली टोलीमाथि पनि छनोटको दबाब बढाउन नहुने उनको धारणा छ। उनले भनेजस्तै पाँचपल्ट एसियन कप खेलिसकेको उज्बेकिस्तानलाई हराउन सहज पनि हुने छैन।
नेपाली महिला टोलीले हालसम्म तीनपल्ट एसिया कप खेलेको छ। सन् १९८६, १९८९ र १९९९ मा नेपालले एसिया कप खेलेको छ। पछिल्लो २६ वर्षयता भने नेपाल यो प्रतिस्पर्धामा छनोट भएको छैन। फिफा वरीयतामा उज्बेकिस्तान ५५औं स्थानमा छ भने नेपाल १००औं स्थानको टोली हो। आँकडा र उसको फुटबल धरातलमा उज्बेकिस्तान बलियो रहेकाले पनि यो छनोट जितेर एसिया कप खेल्छौं भन्न नसकिने प्रशिक्षक प्याट्रिकले बताए। यद्यपि, उनले आफ्नो लामो समय देखिएको प्रशिक्षण करियरअनुसार हेर्दा नेपाली महिला टोली साँच्चै नै बलियो रहेको उल्लेख गरेका छन्।
साथै उनले हरेक एकएक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन्। प्याट्रिकले आफू र आफ्नो टोलीलाई पनि जित्ने इच्छा रहेको बताए। उनले अन्तिमसम्म लडेर भए पनि जित्ने कोसिस गर्ने विश्वास पनि व्यक्त गरेका छन्। तर, छनोट हुन्छौं भनेर खेलाडीमा दबाब बनाउन नहुने उनको भनाइ छ। यो सफलता प्राप्त गर्न लामो समयदेखिको तयारी आवश्यक पर्ने उनी बताउँछन्। उनले पूर्ण टिमसहित आफूले तीन हप्ता प्रशिक्षण गरेको पनि उल्लेख गरेका छन्।
समूह हेर्दा केही सम्भावना प देखिए पनि सहज नरहेको उनको भनाइ छ। जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन्। तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन्। यद्यपि, आफू सकारात्मक नतिजाको आशामा पनि रहेको उनी बताउँछन्। विभिन्न राष्ट्रमा हुने एसियन कप छनोटमा कुल ३४ टोलीले प्रतिस्पर्धा गर्दै छन्। यी टोलीलाई कुल आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा नेपाल र उज्बकिस्तानसहित लाओस र श्रीलंका छन्। नेपालले जुन २९ मा पहिलो खेल लाओससँग खेल्नेछ।
दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा समूहचरणको अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्ने तालिका छ। नेपाली टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नयाँ प्रशिक्षकको आगमनपछि धेरै पक्षमा सुधार आएको आशा व्यक्त गरेकी छन्। अबको चार वर्षपछि के हुन्छ भन्ने नसकिने अहिलेका लागि यो अवसर खेर फाल्न नहुने उनी बताउँछिन्। सावित्रा भण्डारीमाथि सबैको भरोसा रहेको र उनी स्टार खेलाडी रहेको उल्लेख गर्दै कप्तान अन्जिलाले जित निकाल्न एक टिम भएर खेल्दा मात्र सम्भव हुने बताएकी छन्। फरवार्ड सावित्रा भण्डारीले यो छनोटका लागि आफूहरू सकारात्मक रहेको र यो विश्वकपजस्तै रहेको पनि बताइन्।
यो छनोटलाई लिएर सबै उत्साहित रहे पनि रहेको उनको भनाइ छ। महिला खेलाडीका लागि आवश्यक पर्ने प्रोत्साहन प्रशिक्षकबाट पाइरहेको र अहिले टोलीमा रहेका हरेक खेलाडी महत्वपूर्ण रहने गरी तयारी भैरहेको उनी बताउँछिन्। उनले एसियन कप क्वालिफायर आफ्नो र धेरै खेलाडीका लागि पहिलो अवसर रहेको बताइन्। उज्बेकिस्तानसँग आफ्नो टोलीले अहिलेसम्म जित्न नसकेको र श्रीलंकालाई यसअघि आठपल्ट हराए पनि हरेकपल्ट उसले दु:ख दिने गरेको उनी बताउँछन्। लाओस नयाँ टोली भने सहज नहुने भएकाले हरेक खेलमा ध्यान दिएर खेल्ने नेपाली टोलीको लक्ष्य छ।
नेपाली टोलीमा एक जना नयाँ अनुहार थपिएको छ। घरेलु फुटबल एपिएफबाट खेल्दै डिफेन्डर प्रतीक्षा चौधरीले महिला राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। नेपाली टोलीको तीन गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ तथा डिफेन्डरमा गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैसी छन्।
टोलीको मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल तथा फरवार्डमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्। छनोटको आशा र सपना बोकेर नेपाली टोली सोमबार नै उज्बेकिस्तान प्रस्थान गरिसकेको छ।
प्रकाशित: १० असार २०८२ ०७:५६ मंगलबार