२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

नेदरल्यान्ड्समाथि नेपालको जित

<br>

नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन कायमै राखेको छ। आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै शृङ्खलामा दोस्रो जित दर्ता गरेको हो।

टिटवुडमा भएको खेलमा १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको विस्फोटक अर्धशतकको मद्दतले सहजै लक्ष्य पूरा गर्‍यो। नेपालले १९.४ ओभरमा मात्र चार विकेट गुमाएर सफलतापूर्वक पूरा गरेको हो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। उनले नेपालको इनिङ्सलाई बलियो आधार प्रदान गरे।

यस्तै, आरिफ शेखले रिटायर्ड हर्ट हुनुअघि मात्र २३ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३९ रनको आक्रामक योगदान दिए। उनको विस्फोटक ब्याटिङले नेपाललाई लक्ष्यको नजिक पुर्‍याएको थियो। भीम सार्कीले २७ तथा दीपेन्द्रसिंह ऐरीले १६ रन जोड्दा लोकेश बम १२ रनमा अविजित रहे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले उत्कृष्ट ब्याटिङ गर्दै ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रन बनाए। रोइलोफ भान डेर मार्वेले ३६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका लागि करण केसीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराएको थियो।

नेपालले अब शृङ्खलाको आफ्नो अन्तिम खेलमा शुक्रबार आयोजक स्कटल्याण्डसँग खेल्नेछ। उक्त खेलको नतिजाले शृङ्खलाको विजेता टुङ्गो लगाउने सम्भावना छ।

प्रकाशित: ५ असार २०८२ २३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App