२४ असार २०८२ मंगलबार
image/svg+xml
खेल

कीर्तिमानी खेलपछि फेरि भिड्दै नेपाल र डच टोली

नेपालले स्कटल्यान्डमा जारी टी ट्वान्टी शृंखलामा दोस्रो जित निकाल्ने लक्ष्यसहित बिहीबार नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ।

तीन देश सम्मिलित यस शृंखलाको पाँचौं तथा आफ्ना लागि तेस्रो खेलमा नेपालले डच टोलीसँग ग्लास्गोस्थित टिटवुड रंगशालामा आज राती ७ः४५ बजे खेल्ने लागेको हो। डच टोली भने तेस्रो जितको खोजीमा हुनेछ। तीन खेलबाट डच टोलीले दुई जित निकाल्दा एक जित नेपालविरुद्ध नै प्राप्त गरेको हो। टी ट्वान्टी क्रिकेटमा कीर्तिमान बनेको खेलमा नेपालले तेस्रो सुपर ओभरमार्फत हार सामना गर्नु परेको थियो।

अब बिहीबार फेरि नेपाली टोली नेदरल्यान्ड्ससँग दोस्रो भेट गर्दै छ। शृंखलाको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।

रोहितकुमार पौडेलको कप्तानमा रहेको नेपालले स्कटल्यान्ड भ्रमणका क्रममा भएको विश्वकप लिग–२ र टी ट्वान्टी शृंखलामा लय समातेको देखिन्छ। एकदिवसीय शृंखलामा चारमध्ये नेपालले तीन खेल जितेको थियो। टी ट्वान्टी शृंखलामा पनि नेपाली टोली सोही किसिमको नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ। त्यसका लागि बिहीबार नेदरल्यान्ड्ससँगको शृंखला जित्नुको विकल्प हुने छैन। नेपाल र डच टोलीबीच हालसम्म टी ट्वान्टी अन्तर्राष्ट्रियमा १४ खेल भएका छन्।

नेपालले पाँच र नेदरल्यान्ड्सले आठ खेल आफ्नो पक्षमा परेका छन्। एक खेल भने नतिजाविहीन छ। नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले टी ट्वान्टी र एकदिवसीय शृंखलाका क्रममा युवा खेलाडीलाई अवसर दिइरहेका छन्।

सिनियर खेलाडीले चोट बोक्दा केही युवा खेलाडीले पनि अवसर पाएका हुन्। नेपालको ब्याटिङमा कुशल भुर्तेल, करण केसी र रोहित पौडेल राम्रो लयमा देखिन्छन्। बलिङमा सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवजस्ता खेलाडीले साथ दिनेछन्। तर, नन्दनले औंलामा चोट सामना गरेका थिए। सन्दीप यस शृंखलामा सर्वाधिक विकेटकर्ता (७ विकेट) हुन्। यता, नेदरल्यान्ड्स पनि राम्रो लयमा छ।

लगातार तेस्रो जितको लक्ष्यमा रहेको डच टोली पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। त्यस पछिका दुई खेलमा भने उसले नेपाल र स्कटल्यान्डलाई हराएको थियो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डस, माइकल लेभिट, तेजा निदामानुरु, माइकल लिस्क र ब्रेन्डन म्यानकमुलनजस्ता खेलाडी लयमा देखिन्छन्।

प्रकाशित: ५ असार २०८२ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App