काठमाडौं महानगरपालिका–२६ का अर्णव श्रेष्ठ र कीर्तिपुरका जयस्नु महर्जनले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत टेबलटेनिसमा सोमबार स्वर्ण जितेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न टेबल टेनिसको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्णवले स्वर्ण जितेका हुन्। यु–१६ फाइनलमा जयस्नुले काठमाडौं महानगरपालिका–२ का उज्ज्वल मानन्धरलाई ६–११, ११–४, ११–४ र ११–८ को सेटमा हराए। कीर्तिपुरका सफल महर्जन र काठमाडौं महानगरपालिका–२६ का आर्यन शाहीले कांस्य जिते। यु–१४ फाइनलमा अर्णवले काठमाडौं महानगरपालिका–१ का निश्चल थापालाई ११–२, ९–११, ११–७, ५–११ र १२–१० को सेटमा हराए। काठमाडौं महानगरपालिका–१७ का नीरभ महर्जन तथा काठमाडौं महानगरपालिका–२६ का शम्भुराज वन्त तेस्रो भए।
काठमाडौं महानगरपालिका वडा–२६ को आयोजनामा सम्पन्न प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका–२ का उमेश मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा काठमाडौं महानगरपालिका–२६ का चन्दन शाहीलाई १३–११, ९–११, १२–१० र ११–७ ले हराए। कीर्तिपुरका खेलाडीद्वय सुधीर महर्जन र जयराम महर्जन तेस्रो स्थानमा रहे। प्रतियोगितामा काठमाडौं महानगरपालिका–२५ का रियान्श श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा कुल ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि यु–१६ गर्ल्स सिंगल्समा काठमाडौं महानगरपालिका–१७ की प्राज्ना महर्जन र यु–१४ गर्ल्स सिंगल्समा काठमाडौं महानगरपालिका– ११ की अंशु खनालले स्वर्ण जिते।
त्यस्तै भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं महानगरपालिका–२९ की इन्दिरा पराजुली, यु–१२ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका–३० कृतन श्रेष्ठ र यु–१२ गर्ल्स सिंगल्समा काठमाडौं महानगरपालिका–१६ की यमिला श्रेष्ठले स्वर्ण पदकमा आफ्नो नाम लेखाए। सबै स्पर्धामा शीर्ष तीन स्थानका खेलाडीले क्रमश: १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे। विजेतालाई आयोजक वडा–२६ का अध्यक्ष ख्यामराज तिवारी र प्रतियोगिता संयोजक एवं वडा सदस्य प्रवेश श्रेष्ठलगायतले पुरस्कृत गरे। तीदिने प्रतियोगितामा एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
आयोजक क्वार्टरफाइनलमा
फुटसल प्रतियोगितामा आयोजक वडा–२६ क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ। लैनचौर फुटबल मैदानमा भएको खेलमा वडा–२६ ले सोमबार वडा–१७ लाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। वडा–२६ का साजन शाही म्यान अफ द म्याच घोषित भए।
वडा–७ पनि वडा–३० लाई टाइब्रेकरमा हराउँदै क्वार्टरफाइनलमा पुग्यो। प्रतियोगिताअन्तर्गत मंगलबार वडा–१ र वडा–२३, वडा–५ र वडा–२, वडा–१० र वडा–६ तथा वडा–११ र वडा–१६ बीच खेल हुनेछन्। लैनचौरको टेबल टेनिस प्रशिक्षण केन्द्रमा नै मंगलबारदेखि कराते पनि सुरु हुनेछ।
प्रकाशित: ३ असार २०८२ ०७:५६ मंगलबार