विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र उनका १४ वर्षीय छोरा क्रिस्टियानो जुनियरको सँगै खिचिएको फिटनेस तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।
४० वर्षीय रोनाल्डो र उनका छोराले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा दुवैको उत्कृष्ट शारीरिक बनावट देखिएको छ। तस्बिर राख्दै रोनाल्डोले लेखे, ‘जस्तो बाबु, उस्तै छोरो।’
यो तस्बिरमा रोनाल्डो रातो र जुनियर नीलो सर्ट्समा देखिएका छन्। तस्बिरमा उनीहरूले आफ्नो कडा परिश्रम र फिटनेसको नतिजा प्रदर्शन गरेका छन्। तर, प्रशंसकहरूले एउटा रोचक विवरणप्रति ध्यान दिए। १४ वर्षीय जुनियर आफ्ना १.८७ मिटर अग्ला बुबाभन्दा अग्ला देखिए।
सामाजिक सञ्जालमा एक प्रशंसकले लेखे, ‘हाहा, छोरा तिमीभन्दा अग्लो छ!’ अर्कोले टिप्पणी गरे, ‘रोनाल्डोको छोरा मेस्सीभन्दा पनि अग्लो छ!’
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो करियरमा फिटनेसलाई प्राथमिकता दिँदै कडा आहार र जिममा घण्टौं बिताउँछन्। बुबाको अनुशासनलाई जुनियरले पनि पछ्याइरहेका छन्। उनी हाल अल–नासरको यु–१५ टिममा खेल्छन् र पोर्चुगलको यु–१५ टिमबाट डेब्यू गरिसकेका छन्।
जुनियरले भर्खरै पोर्चुगलको यु–१५ टिमबाट क्रोएसियाविरुद्ध ३–२ को जितमा दुई गोल गरे। खेलमा उनले आफ्ना बुबाको प्रतिष्ठित ‘सिउ’ उत्सव मनाए। म्यानचेस्टर युनाइटेड, टोटनहम, र रियल म्याड्रिडजस्ता क्लबहरूले उनलाई नजिकबाट हेरिरहेका छन्।
रोनाल्डोले आफ्नो छोराको डेब्यूमा इन्स्टाग्राममा लेखे, ‘पोर्चुगलका लागि तिम्रो डेब्यूमा बधाई, छोरा। मलाई गर्व छ।’ यो तस्बिरले रोनाल्डोको फेसन शैलीलाई पनि उजागर गरेको छ। उनको खुट्टाको नङ रंगिएको देखियो, जुन प्रशंसकहरूका लागि थप चर्चाको विषय बन्यो। एजेन्सी
प्रकाशित: २ असार २०८२ ०९:१८ सोमबार





