७ असार २०८२ शनिबार
image/svg+xml
खेल

रग्बीमा मधेस र सुदूरपश्चिम च्याम्पियन

मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश जारी यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत रग्बीमा च्याम्पियन भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा दशरथ रंगशालामा सोमबार सम्पन्न रग्बीमा मधेस ब्वाइजतर्फ र सुदूरपश्चिम गर्ल्समा च्याम्पियन भएका हुन्। ब्वाइजको फाइनलमा मधेसले सडन डेथमा एक ट्राईले पछि पार्दै उपाधि उचालेको हो। 

सोमबार नै ब्वाइजतर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गण्डकीले बागमतीलाई एक ट्राईले पराजित गर्‍यो। गर्ल्सको फाइनलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पराजित गर्‍यो। निर्धारित समय र सडन डेथमा पनि बराबरी भएपछि नकअनका आधारमा विजेता घोषणा भएको हो। कर्णालीले तीन नकअन गरेको थियो।

बागमतीले तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशलाई एक ट्राईले हरायो। ब्वाइज र गर्ल्समा दुवैमा समान सात टोलीले प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरे एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले पुरस्कृत गरेका थिए। 

एथलेटिक्समा लुम्बिनीको वर्चस्व

लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन भएको छ। एथलेटिक्समा लुम्बिनीले लामो समयदेखि वर्चस्व जमाउँदै आएको छ। पहिलोपल्ट भएको यु–१४ खेलकुदको एथलेटिक्समा पनि लुम्बिनीले नै वर्चस्व जमायो। लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बन्यो। कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतका साथ दोस्रो भयो। 

गण्डकी प्रदेश र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ संयुक्त रूपमा तेस्रो भए। १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक स्वर्ण जिते। दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। छात्र दुई सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए। उनले निर्धारित दूरी २४.९ सेकेन्ड समयमा पूरा गरे।

मधेसका आयुष चौधरी दोस्रो तथा कोसीका नीतेश भट्टराई तेस्रो भए। सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन्। अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन्। कोसीकी अस्मिता लाम्गादे दोस्रो तथा मधेसकी वर्षा योन्जन तेस्रो भए। नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते। 

उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले। कर्णालीका विवेक बोगटीले रजत र कोसीका नितेश भट्टराईले कांस्य पदक प्राप्त गरे। उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। कोसीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए। छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेस पहिलो, कोसी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे। त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोसीले क्रमश: शीर्ष तीन स्थान हात पारे।

बास्केटबलमा कोसी र बागमती च्याम्पियन
यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोसी र बागमतीले जितेका छन्। कोसी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने। त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोसीले मधेसलाई १७-१२ ले पराजित गर्‍यो। लुम्बिनी तेस्रो भयो। छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५-३ ले हरायो। 

कोसीले तेस्रो स्थानमा चित्त बुझायो। विजेतालाई राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान र विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए। छात्र र छात्रा दुवैमा समान सात प्रदेशका टिम सहभागी थिए। 

प्रकाशित: २७ जेष्ठ २०८२ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App