७ असार २०८२ शनिबार
image/svg+xml
खेल

यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता: मधेससँग कोशी स्तब्ध, गण्डकीको लगातार चौथो हार

वीरेन्द्रनगरमा जारी १६ वर्ष मुनीको टी.बी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा मधेस प्रदेशले कोशीलाई स्तब्ध पार्दा गण्डकीले निराशाजनक नतिजा हात पारेको छ ।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेस प्रदेशका परिमर्जन यादवले २९ बलमा ५४ रनको अर्धशतकीय पारी खेलेपछि कोशी प्रदेश ६ विकेटले स्तब्ध हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित ५० मध्ये ४१ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै जम्मा ११५ रनको सामान्य स्कोर खडा गर्‍यो ।

कोशीका लागि एशिल मण्डलले ५ चौकासहित ५० बलमा ३० रन बटुल्दा शिवांश बजगाईँ, सुगम बुढाथोकी र कविराज खत्रीले समान १३ रह जोडे भने २० रन अतिरिक्त प्राप्त गर्‍यो ।

मधेसका प्लेयर अफ दि म्याच अभय यादवले आफ्नो १० ओभर बलिङ गर्दा जम्मा २ को औसतमा १ मेडनसहति २० रन खर्चिँदा चार महत्त्वपूर्ण विकेट हात पारे । नुमैर यादवले तीन मेडनसहित २० रन दिएर ३ विकेट लिए भने रोहन यादवले २ मेडन राख्दै ३० रन खर्चिएर २ विकेट लिए ।

११६ रनको  लक्ष्य लिएर जवाफी ब्याटिङका लागि क्रिजमा उत्रिएको मधेसलाई तीव्र सुरुवात दिलाउने क्रममा परिमर्जनले ५४ रनको अर्धशतकीय पारी खेल्दा सुशान्त सिंले २२ बलमा २३ र सन्तु मण्डलले १६ रन जोडे ।

कालुङचोक मैदानमा भएको अर्को खेलमा बागमतीले  लगातार तेस्रो जीत निकाल्दा हालसम्म जीत विहीन रहेको गण्डकी आठ विकेटको पराजय पुग्न पुग्यो । टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले विगतका खेलहरुमाझैं कमजोर प्रदर्शन र सुस्त सुरुवात दोहोर्‍यायो । सुप्रिम सुनारको ३२, रिदम पाण्डेको २४ रनको मद्दतमा स्कोरबोर्डमा जम्मा १०३ रन बन्न पुग्यो ।

गण्डकीका लागि भुवन भट्टराई र राज परियाले समान ६–६ रन बटुल्दा अरु कुनै ब्याटरले ५ रनसमेत कटाउन सकेनन् । सुरुवाती एक खेल गुमाए पनि फर्ममा फर्किएर लगातार जीत हात पारिरहेको बागमतीले १०४ रनको लक्ष्य पूरा गर्न २२ ओभर खर्चियो । बागमतीका लागि जोय थापाले नटआउट ३४ र शिवशक्ति महतोले जोडे । यस्तै प्रशिद्ध जैसीले २० र सूर्यांशु कोइरालाले १८ रन बनाए ।

प्रकाशित: २६ जेष्ठ २०८२ १७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App