१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक हमालसहित पाँच उसुका खेलाडीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफूहरूलाई खेले खेल नखेले नखेल भन्दै निरुत्साहित गरेको आरोप लगाएका छन्।
दीपकसहित पाँच खेलाडीले आफ्नो हकअधिकारका विषयमा कुरा गर्दा मन्त्री चौधरीले निरुत्साहित हुने खालको प्रतिक्रिया दिएको आरोप लगाएका हुन्। बुधबार खेलाडीहरूले पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले आफूहरूलाई बाहिर खेल्न जानु या नजानुसँग कुनै मतलब छैन भनेको आरोप लगाए।
मन्त्री चौधरीकै ठाडो आदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा लागेको खर्चको भुक्तानी रोकिएको दीपकले आरोप लगाए। यसबारे कुरा गर्न जाँदा मन्त्री चौधरीबाट आफूहरूले त्यस किसिमको जबाफ पाएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय पदकधारी दीपकसँगै विजय सिन्जाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले गत अक्टोबरमा जापानको योकोहामामा सम्पन्न थाउलु विश्वकपमा सहभागी हुने क्रममा उक्त खर्च लागेको उल्लेख गरे।
खेलाडीहरूले रोकेको भुक्तानी तत्काल निकासाका लागि पनि अनुरोध गरेका छन्। सोही रकम राखेपका सदस्यसचिव टंकलाल घिसिङले भुक्तानी दिन प्रक्रिया अगाडि बढाउँदा मन्त्री चौधरीको ठाडो आदेशमा रोकिएको खेलाडीले बताए। राखेपकै प्लेन टिकटमा आफूहरू त्यहाँ गएको तर बसोबास खर्च तिर्नुपर्ने बारे आयोजकले पछि मात्र जानकारी गराएको खेलाडीको भनाइ छ। सोही रकम भुक्तानी नगरेकाले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुन नपाएको खेलाडीले गुनासो छ।
नेपालमा उसु खेलका सामानान्तर दुई संघ छन्। शैलश कर्माचार्यको नेतृत्वमा नेपाल उसु संघ छ। जसलाई अदालत र राखेपले मान्यता दिएका छन्। तर, अर्को संघको अध्यक्षमा वीरबहादुर तामाङ र महासचिवमा लाक्पा लामा छन्। यो संघ अवैधानिक पनि हो।
तर, यो संघलाई सरकारले नै अवैधानिक मानेको जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीको साथ छ। अन्तर्राष्ट्रिय उसु महासंघको मान्यता रहेको बताइएको छ। अवैधानिक ठहर गरेको उसु संघका महासचिवमा लाक्पाकै नेतृत्वमा नेपाली खेलाडी जापान गएका थिए। अवैधानिक व्यक्तिसँग नै गएको भन्दै मन्त्री चौधरीले खेलाडीको भुक्तानी रोकेको अर्को पक्षले जनाएको छ।
मन्त्रीले पनि दुई संघ मिलेर आएको खण्डमा मात्र रकम भुक्तानी दिने बताएको खेलाडीले उल्लेख गरे। तर, संघ मिल्ने आफूहरूको हातमा नरहेको भन्दै खेलाडीहरूले भुक्तानी पाउनुपर्ने माग गरेका हुन्। गत वर्ष नै अप्रिलमा चीनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङबाट बिदाइ भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो।
सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो। परिषद्बाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा मन्त्री चौधरीले रोकेको खेलाडीहरूले आरोप लगाए।
मन्त्री चौधरी खेल र खेलाडीप्रति सकारात्मक नरहेको खेलाडीहरूको आरोप छ। भुक्तानीमा सहजीकरणका लागि अनुरोध गर्न दुई पटक मन्त्रालयमै गएर मन्त्री चौधरीलाई भेट्दा खेलाडी आफैंले लागेको खर्च तिर्नुपर्ने बताएको खेलाडीहरूले उल्लेख गरे। नेपालबाट प्रतिभावान् खेलाडीहरू प्रत्येक दिन विदेश पलायन हुनुमा सम्पूर्ण खेलकुदको अभिभावकत्व ग्रहण गर्नुपर्ने मन्त्रालयको नेतृत्वबाट हुने यस्तै अपमानजनक व्यवहार मुख्य कारण रहेको खेलाडीहरूको जिकिर थियो।
प्रकाशित: २२ जेष्ठ २०८२ ०७:२७ बिहीबार





