रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले १८ वर्षको लामो प्रतीक्षाको अन्त्य गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ।
विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आइपिएल-२०२५ को रोमाञ्चक फाइनल खेलमा आरसीबीले पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक ट्रफी उचालेको हो।
पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। जवाफमा पन्जाब किंग्सले पूरा ओभर खेल्दै १८४ रन मात्र बनाउन सक्यो र उपाधि जित्नबाट चुक्यो।
आरसीबीका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ३५ बलको सामना गर्दै ३ चौका प्रहार गरे। पन्जाब किंग्सका लागि बलिङतर्फ अर्शदीप सिंह र काइल जेमिसनले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिएका थिए।
यो जितसँगै आरसीबीले आइपिएल इतिहासमा आफ्नो पहिलो उपाधि दर्ता गराएको छ।
प्रकाशित: २० जेष्ठ २०८२ २३:४५ मंगलबार





