प्रशिक्षक म्याट रसको दोस्रो खेलमा सुखद नतिजा आत्मसात् गर्ने लक्ष्यसहित नेपाली फुटबल टोली एएफसी एसियन कप छनोट तेस्रो चरण २०२७ को तयारीमा जुट्दै छ। छनोटको तेस्रो चरणमा नेपाल समूह ‘एफ’ मा छ।
मलेसियासँग हारबाट रसले नेपाली टोलीको प्रशिक्षण सुरुआत गरेका थिए। छनोट र रसको पनि पहिलो खेल नेपालका लागि सुखद बन्न रहेन। अब रसको प्रशिक्षणमा नेपालले दोस्रोपल्ट प्रतिस्पर्धा गर्दै छ।
नेपालले छनोटको दोस्रो खेलअन्तर्गत आगामी जेठ २७ गते लाओससँग खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत फागुनमा रसलाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको हो। उनको पहिलो जिम्मेवारी थियो, फिफा वरीयतामा आफूभन्दा बलियो मलेसियाविरुद्ध जित या बराबरी। तर, नतिजा आशातीत हुन सकेन।
नेपाल घरेलु टोली मलेसियासँग २–० को हार सामना गर्न बाध्य भयो। रसको प्रशिक्षणमा करिब सात दिनको तयारीबाट नेपालले यो खेल खेलेको हो। रस र खेलाडीले एकआपसमा राम्रोसँग बुझ्न नपाएकाले यो नतिजा अपेक्षित नै थियो। तर, यसपल्ट भने रसले छनोटको दोस्रो खेलका लागि पर्याप्त तयारी गरेका छन्।
छनोटको दोस्रो खेलमा लाओसविरुद्ध टोलीलाई तयार गर्दै छन्। करिब ३० दिन नेपाली टोलीले प्रशिक्षण गरेको छ। केही समय हाई अल्टिच्युट र मैदानमा प्रशिक्षणबाट टोलीलाई तयार गरिएको हो। त्यसैले यसपल्ट नेपाली टोलीले सुखद नतिजा आत्मसात् गर्ने अपेक्षामा समर्थक छन्। जुन खेल रसका लागि परीक्षा साबित हुनेछ।
‘मलेसियासँगको खेलबाटै ट्याक्टिकल रूपमा सुधार आवश्यक देख्यौं। अहिले केही काम भएको छ। खेलअवधिभर नै एकै किसिमको प्रदर्शन जारी राख्ने गरी तयार गरेका छौं,’ प्रशिक्षक रसले भने, ‘मेरो दर्शनमा खेल्न खेलाडीलाई गाह्रो थिएन। बुझ्न गाह्रो भए पनि खेलाडीले छिट्टै सोध्ने गर्थें।’
पछिल्ला समय रसको दर्शन र फुटबल शैलीमा पनि खेलाडी अभ्यस्त हुन थालेका छन्। फिफा वरीयतामा लाओस नेपालभन्दा कमजोर टोली हो। तर, फुटबलमा जुनसुकै नतिजा पनि निस्कन्छ। विश्व फुटबलका महारथीले पनि कमजोरी टोलीसँग पराजय सामना गरेका अनगिन्ती घटना छन्। नेपालले पनि लाओसलाई कमजोर आँक्ने छैन। नतिजाले पनि दुई बीच खासै भिन्नता नरहेको देखाउँछ।
लाओस र नेपालबीच अहिलेसम्म ६ पल्ट भेट भएको छ। यसमा नेपालले तीनपल्ट जित निकालेको छ। समान तीन खेलका नतिजा भने बराबरीमा नै टुङ्गिएका छन्। तर, हरेक भेटमा लाओसले नेपाललाई चुनौती दिने गरेको छ। त्यसैले अबको भेटमा पनि सोही चुनौती दोहोरिन सक्छ। तर, नेपाली टोली हरेक चुनौती सामना गर्न तयार छ।
प्रशिक्षक रस र नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पछिल्ला समय टोलीमा धेरै सुधार आएको बताउँछन्। प्रशिक्षकको दर्शनमा खेलाडीहरू अभ्यस्त हुन थालेकाले धेरै पक्षमा सुधार आएको किरणको विश्वास छ। ‘रसको प्रशिक्षण शैलीमा अभ्यस्त हुन समय लाग्यो। करिब सात दिनको प्रशिक्षणमा नै पहिलो खेल खेलेका थियौं। तर, पछिल्ला दुई हप्तामा रसको शैलीलाई खेलाडीले बुझ्न थालेका छन्,’ उनले भने।
नेपालले छनोटका लागि विशेष तयारी पनि गरेको छ। जुन प्रभावकारी बन्ने टोलीको विश्वास छ। टोलीले २५ दिन मैदानमा र पाँच दिन हाई अल्टिच्युड प्रशिक्षण गरेको थियो। पहिलोपल्ट टोलीले हाई अल्टिच्युड प्रशिक्षण गरेको हो। ‘हाई अल्टिच्युडमा केही समय बितायौं। यहाँबाट राम्रा पक्षहरू प्राप्त गर्यौं। त्यसपछि समुन्द्री सतहमा प्रशिक्षण गर्दा केही सहज पनि भयो,’ किरणले भने,‘यहाँबाट नयाँ र राम्रो अनुभव प्राप्त गरेका छौं।’
अहिले टिम स्पिरिट र माहोल पनि बढेको किरणको बुझाइ छ। ‘जुनियर र सिनियर खेलाडी एकआपसमा राम्रोसँग घुलमिल भएका छन्। यसले टिम बन्डिङ राम्रो बनेको छ। युवा जोसले टोलीमा छुट्टै उत्साह थपेको छ। सोहीअनुरूप मैदानमा दिन सक्यौं भने राम्रो नतिजा आउनेछ,’ उनले भने।
लाओससँगको खेलअघि नै नेपालले आगामी बिहीबार हङकङसँग खेल्ने तालिका छ। यही खेलबाट केही पक्षमा सुधार गर्ने योजनामा रस छन्। लाओसविरुद्ध भिड्नुअघि यो खेलले टोलीलाई तयार बनाउने उनी बताउँछन्। किरणले खेलाडीको फिटनेससँगै डिफेन्स र काउन्टर अट्याकमा धेरै सुधार आएको पनि बताएका छन्। त्यसैले लाओसविरुद्ध जित निकाल्नेमा उनी विश्वस्त छन्।
मनाङमा हाई अल्टिच्युड ट्रेनिङ प्रभावकारी बनेको र लामो समयदेखि तयारीपछि टोलीमा सुधार आएको रसले बताए। ‘खेलाडीले पर्याप्त रेस्ट पाएका छन्। हाई अल्टिच्युड ट्रेनिङले खेलाडीमा धेरै पक्षमा सुधार आएको छ। यसबीच फिटनेसमा पनि काम गर्यौं,’ प्रशिक्षक रसले भने। हङकङ राम्रो टोली भए पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने उनले आशा व्यक्त गरेका छन्।
उनले केही युवा खेलाडी टोलीमा रहनुले आक्रमण चुस्त बन्ने उल्लेख गरे। त्यसैले एसियन कप २०२७ को छनोट चरणको आगामी खेलमा राम्रो नतिजा आउने रस बताउँछन्। हङकङ र लाओससँगको खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाँदै छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र एन्फाका महासचिव किरण राईले नेपाली फुटबल टोलीलाई बिदाइ गरे। रसले यसअघि नै गोलकिपर किरणको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन्। मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
नेपालको तीन गोलकिपरमा किरणसँगै दीप कार्की र विशाल सुनार छन्। अन्य सदस्यमा रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, कृतीशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमित श्रेष्ठ छन्।
छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ मा भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूहविजेता मात्र छनोट हुनेछ।
प्रकाशित: २० जेष्ठ २०८२ ०७:३७ मंगलबार





