१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

यु-१६ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिममाथि कोशीको रवाफिलो जीत

नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पूर्वको कोशी प्रदेशले सुदूर पश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जीत निकाल्दै रेकर्ड बनाएको हो।

टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुवैमा नियन्त्रण राख्दै सुदूर पश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो।

सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिँदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अङ्कको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो।

कोशीका लागि निकै किफायति र प्रभावकारी साबित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औसतमा २१ रन खर्चिएर ५ विकेट लिए।

निकै अनुशासित बलिङ गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे। बलिङ र फिल्डिङलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिँदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए।

१ सय २ रनकाे सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्त्वपूर्ण बन्यो।

२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजीव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए। ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे।

प्रकाशित: १९ जेष्ठ २०८२ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App