यस वर्षको लाखेजात्राको अवसरमा सञ्चालन हुने तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको तयारी स्वरूप भानुजन माविको खेल मैदान व्यवस्थापन गर्न थालिएको छ। यहाँका विभिन्न विद्यालय, संघसंस्था, टोल समाज र लाखेजात्रा सञ्चालन समितिका पदाधिकारी तथा सदस्यहरूको अगुवाइमा खेल मैदान स्थलमा प्राकृतिक दुबो रोपण परीक्षण थालिएको छ।
’खेल मैदान स्थलमा कम्तीमा दुई महिना खेलकुदका गतिविधि स्थगित गरी परीक्षणको रूपमा दुबो रोपण कार्य सुरु गरेका हौं,‘ लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले भने। उनले स्फुर्त रूपमा अहिले मैदान क्षेत्रमा दुबो रोपणसहितका अन्य मैदान व्यवस्थापनका कार्यमा स्वयंसेवीहरू मैदानमा देखा पर्न थालेको जानकारी दिए। मैदानमा आफैँ पनि अलिअलि दुबो उम्रन थालेको र रोपिएको दुबोले पनि साथ दिए मैदानमा खेल सहज हुने देखेर आफूहरू अग्रसर भएको उनको भनाइ छ।
आयोजक लाखोजात्रा सञ्चालन समितिले दुबो रोपण कार्यलाई परीक्षणको रूपमा लिएको छ। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन परीक्षणको रूपमा दुबो रोपण कार्य सुरु गरिएको र परीक्षण सफल भए यसले नयाँ सिकाइ प्राप्त हुने बताउँछन्। ‘यो हाम्रो पहिलो प्रयास हो,’ मादेनले भने, ‘परीक्षणको रूपमा थालिएको अभियान सफल भए यसले खेल मैदानलाई नयाँ स्वरूपको बनाउने छ।’
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष शेर्पाले दुबो रोपण कार्यपछि त्यसलाई मलजलको व्यवस्थापन गर्ने, हेरचाह र स्याहारमा ध्यान दिने तयारी रहेको बताउँछन्। उनले परीक्षणको रूपमा अघि दुबो रोपण कार्य अघि बढाइएकाले रोपणदेखि संरक्षणसम्ममा सबैको सहयोगको खाँचो पनि औंल्याएका छन्। तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप साउन तेस्रो साताबाट सञ्चालन हुन सक्ने देखिएको छ।
साउन २४ गते रक्षाबन्धन पर्छ। सञ्चालन र समापनको आधिकारिक मिति भने तय भइसकेको छैन। दोस्रो संस्करणको ताप्लेजुङ गोल्डपक भदौ ३ गतेबाट सुरु भएको थियो। उक्त संस्करणको ताप्लेजुङ गोल्डकपका विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए।
गोल्डकपको प्रथम संस्करणको विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाएका थिए। तेस्रो संस्करणका विजेता र उपविजेताले पाउने पुरस्कार राशीबारे लाखेजात्रा सञ्चालन समिति निर्णयमा पुगेको छैन।
प्रकाशित: ९ जेष्ठ २०८२ १२:२० शुक्रबार





