१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

जेठ २४ मा लाङटाङ ट्रेल रन

लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आगामी जेठ २४ गते हुने भएको छ।

रसुवा नुवाकोट पर्यटन समाजले स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित लाङटाङ ट्रेल रन गर्न लागेको हो। रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरेका थिए। जसले स्थानीय पर्यटन प्रवर्धनमा समेत काम गर्दै आएको छ।

त्रिपुरेश्वरमा बिहीबार पत्रकार सम्मेलन गर्दै समाजले ट्रेल रनको बारेमा जानकारी दियो। तीन हजार आठ सय ४० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त टे«ल रन हुने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानले जानकारी दिए। उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको हुनेछ। स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्याजिन भ्यालीबाट लाङटाङ ट्रेल रन सुरु गरिएको समाजका अध्यक्ष न्यौपानले जानकारी दिए। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले ट्रेल रनका लागि सहकार्य गर्ने भएको छ। लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ।

लाङटाङ ट्रेल रनमा सहभागी हुन जेठ २० गतेसम्म अनलाइनमार्पmत फाराम भर्नुपर्नेछ। बागमती प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा रसुवा नुवाकोट पर्यटन समाजले लाङटाङ ट्रेल रन आयोजना गर्न लागेको हो। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पनि सहकार्य गर्नेछ।

लाङटाङ ट्रेल रन आयोजनाका लागि करिब ४० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ। नेपाली खेलाडीले प्रतिव्यक्ति तीन हजार पाँच सय रूपैयाँ र विदेशीले प्रतिव्यक्ति अमेरिकी ६० डलरको सहभागिता शुल्क तिर्नुपर्नेछ। लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुटै नगद पुरस्कार पाउनेछन्। पहिलोदेखि पाँचौं स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने भएका छन्। यस ट्रेल रनका लागि प्राविधिक समूह गठन गरिएको आयोजकले  जनाएको छ।

लाङटाङ ट्रेल रनसँगै त्यहाँ पैदलयात्रा पनि हुनेछ। जेठ २० गते स्याफ्रबेसी, दोभानदेखि बम्बुसम्म पैदलयात्रा, जेठ २१ गते बम्बुबाट लाङटाङसम्म पैदलयात्रा, जेठ २२ गते लाङटाङदेखि क्याजिन गुम्बासम्म पैदलयात्रा र जेठ २३ गते क्याजिन गुम्बामा तयारी तथा लेक पचाउने कार्यक्रम रहेको छ।

अन्तिम दिन जेठ २४ गते क्याजिन गुम्बाबाट स्याफ्रुबेसीसम्म दौड प्रतियोगिता हुने भएको छ। २०७२ सालको भूकम्प र कोभिड–१९ का कारण लाङटाङको पर्यटन निकै प्रभावित भएको थियो। त्यसैले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०८२ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App