२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
खेल

सकियो बी डिभिजनः भगवतीको बढुवा, रेलिगेसनमा टुसाल

श्री भगवती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट मंगलबार बढुवा हुँदा टुसाल युवा क्लब भने रेलिगेसनमा परेको छ।

यससँगै यस सिजन ‘बी’ डिभिजन लिगबाट बढुवा र घटुवा हुने समान दुई टोलीको टुङ्गो लागेको छ । यस सिजनको लिगमा १२औं चरणको खेलमा मंगलबार नै बढुवा र घटुवा हुने समान दुई टोलीको समीकरण पूरा भएको हो ।

यसअघि नै प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजन लिगमा बढुवा हुँदा नयाँ बस्ती युवा क्लब ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेको थियो । तर, मंगलबारका दुई खेलबाट बढुवा र घटुवा हुने दुई टोलीको टुङ्गो लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलको नतिजापछि टुसाल युवा क्लब घटुवा भयो । दोस्रो खेलबाट जित निकाल्दै श्री भगवती क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो ।

रानीपोखरी कर्नर टिम (आरसिटी) ले मंगलबार एक अंक जोडेसँगै ‘बी’ डिभिजन लिगबाट रेलिगेसनमा पर्ने दोस्रो टोलीको पनि टुङ्गो लाग्यो । पहिलो खेलमा आरसिटीले वीरगन्ज युनाइटेडसँग १–१ को बराबरी खेलेसँगै टुसाल युवा क्लब रेलिगेसनमा पर्ने दोस्रो टोली बन्यो । १२ खेलबाट आरसिटीले १५ अंक जोड्दै ११औं स्थानमा उक्लियो ।

यससँगै नवौं स्थानको आरसिटी रेलिगेसनमा पर्नबाट एक अंकले जोगियो । यो नतिजासँगै टुसाल भने रेलिगेसनमा पर्‍यो। टुसालको समान खेलबाट ११ अंक छ । अब लिगको अन्तिम खेलमा जित निकाले पनि टुसालले पुछारबाट दोस्रो स्थानमा सुधार गर्न नसक्ने भएपछि रेलिगसेन पक्का भएको हो ।

यसअघि टुसालकै छिमेकी टोली नयाँ बस्ती युवा क्लब रेलिगेसनमा परिसकेको छ । पाँचौँ स्थानको वीरगन्जले आरसिटीसँग सुरुआतमा पछि परे पनि पुनरागमन गरेको हो । खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफको तेस्रो मिनेटमै आरसिटीले अग्रता बनायो । आरसिटीका प्रज्वल गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । ५८औं मिनेटमा वीरगन्जका सञ्जय चौधरीले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे । तर, गोल भने गर्न सकेनन् । यो खेलपछि १२ खेलबाट वीरगन्ज १७ अंकसहित पाँचौं स्थानमा यथावत् छ ।  

दोस्रो स्थानको श्री भगवती क्लबले तेस्रो स्थानको ब्वाइज युनियन क्लबलाई २–१ ले हराउँदै ‘ए’ डिभिजन लिगको यात्रा तय गर्‍यो । श्री भगवतीका लागि शिशिर लेखी र अजित लामाले गोल गरे । ब्वाइज युनियनका सञ्जीव लामाले गोल फर्काए । यो खेलमा जित निकाल्दै श्री भगवती शीर्ष डिभिजनमा उक्लिने लक्ष्यमा थियो । श्री भगवतीभन्दा चार अंकले पछाडि रहेको ब्वाइज युनियनलाई पनि शीर्ष डिभिजनको सम्भावना कायम नै राख्न जित्नैपर्ने दबाब थियो । तर, हार बेहोरेसँग ब्वाइज युनियनको शीर्ष डिभिजनमा फर्कने सम्भावना सकिएको हो । खेलको छैटौं मिनेटमा नै शिशिरले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए ।

३८औं मिनेटमा अजितले गोल गरेपछि श्री भगवतीले २–० को अग्रता लियो । पहिलो हाफमा श्री भगवतीले सहज अग्रता बनायो । दोस्रो हाफमा ब्वाइज युनियनले गोल फर्काए पनि हार टार्न सकेन । सञ्जीवले ७९औं मिनेटमा गोल गर्दै ब्वाइज युनियनको अन्तर २–१ ले छोट्याए । तर, त्यसपछि थप गोल हुन सकेन र श्री भगवतीले जित निकाल्यो ।

प्रकाशित: ६ जेष्ठ २०८२ २१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App