१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपाली महिला क्रिकेटले रच्यो इतिहास

नेपालले आइसिसी महिला

टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता प्राप्त गरेको छ। जित्नैपर्ने खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेट स्तब्ध बनाउँदै नेपाली महिला टोलीले पहिलोपल्ट आइसिसी टी ट्वान्टी विश्वकप छनोटमा स्थान बनाएको हो। थाइल्यान्डमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा शीर्ष दुई स्थानमा रहँदै नेपाल यो सफलता प्राप्त गर्न सफल भयो। 

नौ राष्ट्रले प्रतिस्पर्धा गरेको यो यस प्रतियोगिताबाट उत्कृष्ट दुई टोलीले आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट २०२६ मा स्थान बनाउने प्रावधान थियो। सोहीअनुरूप घरेलु टोली थाइल्यान्डले आइतबार र नेपालले सोमबार लगातार सुपर थ्रीमा जित निकाल्दै ग्लोबल छनोटको यात्रा तय गरेका हुन्। आइसिसीको टी ट्वान्टी वरीयतामा आफूभन्दा पाँच स्थान माथि रहेको युएईमाथि जित रचेपछि नेपालले ऐतिहासिक सफलता पाएको हो। 

एसिया छनोटबाट तीन समूहका विजेता थाइल्यान्ड, नेपाल र युएईले सुपर थ्रीमा स्थान बनाएका थिए। सुपर थ्रीबाट शीर्ष दुई राष्ट्रले इङ्ल्यान्ड र वेल्समा तय आइसिसी महिला टी ट्वान्टी विश्वकपको अन्तिम चरणको छनोट (ग्लोबल) मा स्थान बनाउँथे। तर, युएईले सुपर थ्रीमा दुई हार बेहोरेपछि नेपालले ऐतिहासिक सफलता पाएको हो। समूहको विजेता हुँदा युएई र थाइल्यान्डले समान ६ अंकसहित सुपर थ्रीमा स्थान बनाएका थिए। तर, नेपालले भने पाँच अंकसहित सुपर थ्रीको यात्रा तय गरेको थियो। यस्तो स्थितिमा नेपालसामु सोमबार हुने सुपर थ्रीको पहिलो खेलमा युएईलाई हराउनुको विकल्प थिएन। 

बैंककको टेर्डथाईमा भएको खेलमा कप्तान इन्दु बर्माको धैर्यपूर्वक ब्याटिङ र मनीषा उपाध्यायको उत्कृष्ट बलिङ प्रेरणामा नेपाली टोलीले युएईमाथि सनसनीपूर्ण जित निकाल्यो। नेपालको सफलतामा पूर्वकप्तान रुबिना क्षेत्रीले पनि महत्वपूर्ण इनिङ खेलिन्। युएईले पनि खराब फिल्डिङ गरेपछि लक्ष्य पछ्याएको नेपालका लागि केही सहज बन्यो। नेपालविरुद्ध युएईले ब्याटिङमा संघर्ष गरे पनि ११५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दियो। तर, त्यो लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। नौ ओभरमा नेपाल ३८/३ को अवस्थामा थियो। यस क्रममा ओपनर सम्झना खड्काले २१ रन जोड्दा अर्की ओपनर राजमती ऐरी आठ रनमा पेभेलियन फर्किइन्।

त्यसपछि आएकी कविता कुँवर पनि पाँच रनमा नै आउट भइन्। तर, इन्दुले २८ बलमा ३० रनमा अविजित रहँदै जित दिलाइन्। इन्दुको इनिङमा दुई चौका रह्यो। रुबिनाले १८ बलमा तीन चौकासहित २३ रन जोड्दै इन्दुलाई साथ दिइन्। यी दुईबीच पाँचौं विकेटका लागि ३७ रनको महत्वपूर्ण साझेदारी बन्यो। जितनजिक पुगेको अवस्थामा रुबिना आउट भइन्। तर, इन्दुले धैर्यपूर्वक ब्याटिङ गर्दै जित दिलाइन्। उनी प्लेयर अफ द म्याच पनि भइन्। यसबीच युएईका फिल्डिरले इन्दुको क्याच छोड्दा र रनआउट अवसर गुमाउँदा नेपाल भाग्यशाली पनि बन्यो। युएईको बलिङमा मिकाइला बोथा, सुरक्षा कोटे, वैष्णवी महेश र ईशा ओझाले समान एक विकेट लिए पनि जित दिलाउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा सात विकेट गुमाउँदा ११४ रन जोड्यो। ओपनरद्वय कप्तान ईशाले ३९ रन र तीर्था सतीशले २१ रन जोड्दै राम्रो सुरुआत दिलाए। लावण्याले १२ र मध्य क्रमककी ब्याटर हिना होट्चान्दानीले २० रन जोडे। एक समय युएई चुनौतीपूर्ण लक्ष्यतर्पm अग्रसर थियो। तर, नेपालका बलरले लय समात्दै पुनरागमन गरेका हुन्। युवा बलर मनीषाले चार ओभरमा २० रन मात्र दिँदै चार विकेट लिइन्। कविता कुँवरले दुई तथा राजमतीले एक विकेट लिए। सुरुदेखि नेपाली बलरले कसिलो बलिङ गरेका थिए। तर, पहिलो विकेट निकाल्न भने १० ओभरसम्म पर्खनुपरेको थियो।

त्यसपछि भने विकेट निकाल्दै नेपाली बलरले युएईलाई खुलेर ब्याटिङ गर्न दिएनन्। ब्याटिङमा पनि अनुभवी खेलाडीबाट साथ पाउँदा नेपालले लक्ष्य भेट्टायो। सुपर थ्रीको अन्तिम खेलमा मंगलबार नेपाल र थाइल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। यो खेलमा जित निकाल्दै नेपाली टोली थप आत्मबल बढाउने लक्ष्यमा हुनेछ। नेपाल र थाइल्यान्डले अब आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने अन्तिम छनोटमा स्थान बनाएका छन्। यहाँबाट चार राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्। आइसिसी महिला टी ट्वान्टी छनोट २०२६ को मिति भने तय भइसकेको छैन।

प्रकाशित: ६ जेष्ठ २०८२ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App