काठमाडौं महानगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिगताको उपाधि जितेको छ।
गोदावरीमा शुक्रबार भएको फाइनलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा हराउँदै काठमाडौंले उपाधि उचालेको हो। खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा पनि ५–५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट सम्भव भएको हो। यससँगै काठमाडौंले लगातार दोस्रो संस्करण उपाधि उचाल्यो। विजेता काठमाडौंले पाँच लाख र उपविजेता गोदावरीले तीन लाख नगद पुरस्कार पाए। विजेता खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नगर प्रमुख गजेन्द्र महर्जन र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलगायतले पुरस्कृत गरे।
मिश्र सम्मानित
अखिल नेपाल फुटबल संघ (एन्फा) का कम्पिटिसन डाइरेक्टर सञ्जीव मिश्र सम्मानित भएका छन्।
गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको समापनका अवसरमा मिश्रलाई सम्मानित गरेको हो। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र नगर प्रमुख गजेन्द्र महर्जनले मिश्रलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
नेपालमा फुटबल खेलको विकास, विस्तार र प्रवर्धनमा योगदान पुर्याएको भन्दै नगरपालिकाले शुक्रबार मिश्रलाई सम्मान गरेको हो। मिश्रको योगदान नेपाली फुटबलमा ठूलो भएको नगरपालिकाले उल्लेख गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०८२ १०:०७ शनिबार