नेपाल थाइल्यान्डमा भएको आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा शुक्रबार सुपर थ्रीमा पुग्न सफल भएको छ।
हङकङ र बहराइनबीच समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको सुपर थ्रीमा पुगेको हो। नेपाल समूहमा बढी जित (दुई) का आधारमा सुपर थ्री पुग्यो। हङकङ र नेपालले समूहमा समान चार खेलबाट समान पाँच अंक जोड्यो। तर, नेपाललाई दोस्रो चरणमा पुग्ने दुई जितको नतिजा नै पर्याप्त भयो।
यस छनोटको नियमअनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा समूह विजेता टुङ्गो लगाउने प्रावधान छ। जित पनि बराबरी भएमा नेट रनरेट आधारमा विजेता तय गरिन्थ्यो।
त्यसो हुँदा नेपालका लागि असहज बन्ने थियो। तर, समूहमा दुई जित निकालेकाले नेपालका लागि दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो। नेपालको चार खेलबाट दुई जित, एक हार र एक नतिजा विहीन भएको थियो। हङकङको भने समान खेलबाट एक जित र तीन नतिजाविहीन रह्यो। तीन खेल वर्षाले हुन नसक्दा हङकङले नेपाललाई हराए पनि दोस्रो चरणमा पुग्न सकेन।
शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो। तर वर्षा बाधक बन्दा हङकङ बाहिरिन पुग्यो। यस छनोटमा तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका हुन्। सुपर थ्रीमा नेपालले बलिया टोली संयुक्त अरब इमिरेट्स (युएई) र थाइल्यान्डको सामना गर्नेछ।
सुपर थ्रीमा एकअर्कासँग खेलेपश्चात् शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन्। समूहमा प्राप्त अंक पनि सुपर थ्रीमा गणना हुनेछ। समूह ‘ए’ को विजेता थाइल्यान्ड र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) समान ६ अंकसहित सुपर थ्रीमा पुगेका छन्।
नेपालले भने पाँच अंक बटुल्दै दोस्रो चरणको यात्रा तय गर्यो। ग्लोबल छनोटमा पुग्न कम्तीमा पनि एक खेल नेपालले आफ्नो पक्षमा पार्नुपर्नेछ। तर, वर्षाले दुवै खेल प्रभावित भएमा भने नेपालको यात्रा सुपर थ्रीमा नै टुङ्गिनेछ। अब नेपालले सुपर थ्रीमा आइतबार थाइल्यान्डसँग र सोमबार युएईसँग खेल्ने तय छ। नेपाल सुपर थ्रीमा यी दुवै अपराजित टोलीमाथि जित निकाल्दै ग्लोबल छनोटमा पुग्ने लक्ष्यमा छ।
प्रकाशित: ३ जेष्ठ २०८२ ०९:५५ शनिबार