१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विश्वकप एसिया छनोटमा नेपाल शीर्ष स्थानमा, बहराइन ६ विकेटले पराजित

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल ५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ र बहराइनको ३ खेलमा १ अंक छ ।  

वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।  

नेपालको जितमा कप्तान इन्दु बर्माले ७ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाइन् । पुजा महतोले १३ रनको योगदान दिइन् ।

पहिला ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन जोड्दा वर्षाले खेल रोकिएको थियो । बहराइनका लागि रासिका रोड्रीगोले २४ रन जोडेकी थिइन् ।  

अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भए वा वर्षाले खेल रद्द भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।  

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

प्रकाशित: १ जेष्ठ २०८२ १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App