२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
खेल

पोर्चुगलको जर्सीमा रोनाल्डोका छोरा, पिताले भने- ‘बधाई छोरा, तिमीमाथि धेरै गर्व छ’

विश्वप्रसिद्ध पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा औपचारिक डेब्यु गरेका छन्।

मंगलबार क्रोएसियामा जापानविरुद्ध भएको खेलमा उनले डेब्यु गर्दै आफ्नो उदीयमान फुटबल यात्रामा महत्वपूर्ण कदम चालेका हुन्।

क्रोएसियामा जारी भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल यू-१५ टोलीले जापानलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो।

उक्त खेलमा १४ वर्षीय क्रिस्टियानो जुनियर खेलको ५४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। त्यस समय पोर्चुगल ब्रागाका राफेल काब्रालको ह्याट्रिकको मद्दतले ३-० को अग्रतामा थियो।

छोराको अन्तर्राष्ट्रिय डेब्युपछि अल नासरका कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमार्फत खुसी र गर्व व्यक्त गरेका छन्।

उनले छोरालाई बधाई दिँदै लेखेका छन्, ‘पोर्चुगल राष्ट्रिय टोलीबाट डेब्यु गरेकोमा बधाई छोरा। तिमीमाथि धेरै गर्व छ !’ रोनाल्डोले छोराको तस्बिरसहित उक्त सन्देश पोस्ट गरेका थिए।

क्रिस्टियानो जुनियर हाल साउदी अरेबियाको क्लब अल नासरको एकेडेमीमा आबद्ध छन् र फरवार्डको भूमिकामा खेल्छन्।

उनी यस महिना यू-१५ टोलीमा युरोप बाहिरबाट समावेश हुने एकमात्र खेलाडी हुन्। क्रोएसियामा जारी प्रतियोगितामा उनलाई हौसला दिन उनकी हजुरआमा मारिया डोलोरेस पनि सँगै गएकी छन्।

पोर्चुगल यू-१५ टोलीले प्रतियोगिता अन्तर्गत बुधबार ग्रीस र शुक्रबार इंग्ल्यान्डको सामना गर्नेछ। आइतबार हुने अन्तिम खेलको प्रतिद्वन्द्वी भने हालसम्म तय भइसकेको छैन।

क्रिस्टियानो जुनियरले आगामी खेलहरूमा पनि अवसर पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ वैशाख २०८२ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App