१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

क्यानसँगको सम्झौता अगाडि नबढाउने सन्दीपको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ(क्यान)सँगको केन्द्रीय सम्झौता अगाडि नबढाउने घोषणा गरेका छन्। बुधबार फेसबुकमा लामो स्टाटस राख्दै सन्दीपले यस्तो घोषणा गरेका हुन्। 

‘यहाँ धेरैै सोचविचार पछि मैले यो पटकका लागि नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा अगाडि नबढ्ने निर्णय गरेको छु,’ सन्दीपले लेखेका छन्, ‘यो क्रिकेट वा देशबाट टाढा जाने निर्णय होइन, यो व्यक्तिगत र पेशागत रूपमा अझ परिपक्व हुने दिशातर्फको एक कदम हो।’

यस्तै उनले आफ्नो यात्रा भरि क्यानले दिँदै आएको निरन्तर समर्थनप्रति गहिरो आभार व्यक्त गरेका छन्। ‘नेपाली क्रिकेटको विकास र मेरो आफ्नै यात्रामा उहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो,’ उनले अगाडि लेखेका छन्।  

क्यानको सम्झौताबाट बाहिरिएपनि नेपालका लागि उस्तै जोस र समर्पणका साथ खेल्ने पनि सन्दीपले लेखेका छन्। ‘स्पष्ट रूपमा भन्न चाहन्छु–म अझै पनि सधैंजस्तै जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु। त्यो गर्व र जिम्मेवारी सधैं मेरो मुटुमा रहनेछ,’ उनले भनेका छन्।  

सन्दीपले जीवन एउटा यात्रा रहेको उल्लेख गर्र्दै जहाँ बाटाहरू र जिम्मेवारीहरू समयसँगै परिवर्तन भइरहने भनेका छन्। उनले अगाडि लेखेका छन्, ‘अझ धेरै कुरा पत्ता लगाउन बाँकी छ, अझ धेरै दिन बाँकी छ। र, अझ धेरै बन्न बाँकी छ।’  

उनले अगामी यात्राका लागि उत्साहित भएको पनि उल्लेख गरेका छन्। ‘म आगामी यात्राको लागि उत्साहित छु–क्रिकेटसँगै र त्यसपारि पनि,’ उनले लेखेका छन्।  

देशप्रतिको निष्ठा र खेलप्रतिको मेरो जोश सधैं प्रत्येक कदमको मूलमा रहने पनि सन्दीपले लेखेका छन्।  

‘कहिलेकाहीँ केही निर्णयहरू टाढा हुन होइन, उद्देश्य र विकासको भावना भएर गरिन्छन्,’ सन्दीपले भनेका छन्,‘यात्रा जारी रहन्छ–नयाँ ऊर्जा र खुला मनका साथ। सधैं ममाथि विश्वास राख्नुभएकोमा धन्यवाद।’

प्रकाशित: ३१ वैशाख २०८२ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App