१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

उपाधितर्फ बढ्यो बार्सिलोना

स्पेनिस ला लिगा

बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ। आइतबार राति भएको ऐतिहासिक ’एल क्लासिको’ मा ४-३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको अंकदूरी सातमा पुर्‍याएको हो। 

शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ। रियालको भने समान खेलबाट ७५ अंक छ। अब लिगका तीन खेल मात्र बाँकी छन्। तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ। 

यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो। जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो। ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु ठूलो उपलब्धि हो।

खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियाललाई २-० को अग्रता दिलाएका थिए। घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमल र एरिक गार्सियाले गोल गरेपछि पहिलो हाफमै ४-२ को अग्रता लियो।

७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे। त्यसपछि रियालले बराबरी गोल फर्काउन सकेन र उपाधि होडमा ठूलो झट्का बेहोर्नुपर्‍यो। एमबाप्पे २७ गोलसहित ला लिगाको शीर्ष गोलकर्ता बनेका छन्। बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की २५ गोलसहित दोस्रो स्थानमा छन्। उनी आइतबारको खेलमा सुरुआती टोलीमा थिएनन्। बार्सिलोनाका लागि यो साता दोस्रो सबैभन्दा बढी गोल भएको खेल थियो। 

मंगलबार च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समयमा ७-६ को समग्र नतिजामा हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपि, बार्सिलोनाले यो सिजन रियालविरुद्धका सबै खेल जितेको छ। अक्टोबरमा लिगको पहिलो खेलमा सान्टियागो बर्नाबेउमा ४-०, जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५-२ र गत महिना कोपा डेल रे फाइनलमा बार्सिलोनाले ३-२ को नतिजा निकालेको थियो। एजेन्सी

प्रकाशित: ३० वैशाख २०८२ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App