भारत र पाकिस्तानबीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला पाकिस्तान सुपर लिग पिएसएलका खेल प्रभावित भएका छन्।
बिहीबार आयोजना हुने तय भएको कराँची किङ्स र पेशावर जालमीबीचको खेल भारतीय आक्रमणका कारण स्थगित भएको हो। पाकिस्तान क्रिकेट बोर्डका अधिकारी, टिमका मालिक र खेलाडीको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ।
सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै खेल स्थगित गरिएको ट्रिब्युनले उल्लेख गरेको छ। खेलाडीको सुरक्षा र बन्दोबस्तीको जटिलतालाई ध्यानमा राख्दै पिएसएलका आगामी १० खेल कराँचीमा सार्ने तयारी भइरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
रावलपिन्डी क्रिकेट रंगशालामा भारतीय ड्रोन दुर्घटना भएपछि पिएसएलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। इन्डियन प्रिमियर लिग अइपिएलका भने कुनै पनि खेल प्रभावित भएनन्।
बिहीबार पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा खेल भयो। भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि यस खेलमा अनिश्चितता देखिएको थियो। पाकिस्तानमाथि आक्रमण गरेपछि भारतका धेरै एयरपोर्टहरूमा व्यावसायिक उडान अस्थायी रूपमा रोकिएका छन्। धर्मशालाको एयरपोर्ट पनि त्यही सूचीमा परेको हो।
प्रकाशित: २६ वैशाख २०८२ ०८:४८ शुक्रबार