२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

खेलकुद पत्रकार मञ्चमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो। अध्यक्ष पदमा अधिकारीले आफ्ना प्रतिस्पर्धी प्रकाश तिमिल्सिनालाई हराए। अधिकारीले ४५ मत ल्याए। तिमिल्सिनाले भने ३५ मत पाए। महासचिवमा अञ्जन खड्काले आफ्ना प्रतिद्वन्द्वी राजु घिसिङलाई पछि पारे। खड्काले ५१ र घिसिङले २८ मत प्राप्त गरे।

सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए। उनले ५१ मत र उनका प्रतिद्वन्द्वी गोविन्दराज नेपालले २८ मत पाए। प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षमा सञ्जीव सिल्पकार, गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए।

कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल पनि निर्विरोध चयन भए। अन्य तीन सदस्यमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन्। सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए। यो कार्यकाल तीन वर्षको हुनेछ। निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र दिए। मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको हो।

 अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले यसअघि खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने अघिल्ला कार्यकालमा पूरा गर्न नसकेका काम अब पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो निर्वाचनअगाडि बन्द सत्रले महासचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो। त्यसअघि उक्त साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले उद्घाटन गरेका थिए। सो अवसरमा सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा नेपाल खेलकुद पत्रकार मञ्चको भूमिका अहम् रहँदै आएको बताए। 

प्रकाशित: २६ वैशाख २०८२ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App