साबिक विजेता काठमाडौं महानगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सोमबार रबाफिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को खेलमा काठमाडौंले चाँगुनारायण नगरपालिकामाथि ५–० को जित निकाल्यो। काठमाडौंको जितमा राज पौडेल, आखिलेश कार्की, कप्तान विराज महर्जन, सरोज तामाङ र मनीष सोढार्इंले गोल गरे। यससँगै काठमाडौंले समूह ‘बी’ मा तीन अंक जोड्यो।
खेलको २१औं मिनेटमा राजको गोलमार्पmत काठमाडौंले अग्रता लिएको थियो। ३८औं मिनेटमा अखिलेशले काठमाडौंको अग्रता दोब्बर बनाए। विराजले ४०औं मिनेटमा काठमाडौंका लागि तेस्रो गोल गरे। ६३औं मिनेटमा सरोजले गोल गर्दा काठमाडौंको अग्रता ४–० मा पुग्यो।
मनीषले ८२औं मिनेटमा गोल गर्दै काठमाडौंलाई ५–० को सानदार जित दिलाए। यो खेल आइतबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेलमैदानमा तय थियो। तर, वर्षाका कारण खेलाउन सम्भव नभएपछि सोमबार एन्फा कम्प्लेक्समा खेल गरिएको हो।
सोमबारकै अन्य खेलमा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकामाथि ७–३ र दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकामाथि ५–० को सहज जित निकाले। जितसँगै समूह ‘सी’ को दक्षिणकालीले तीन अंक जोडेको छ। कागेश्वरीको भने सुरुआत सुखद हुन सकेन। गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेलमैदानमा दक्षिणकालीको जितमा अमित तामाङले ह्याट्रिक पूरा गरे।
कप्तान नवीन कमचार्यले दुई गोल थपे। खेलको चौथो मिनेटमै अमितको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो। २१औं मिनेटमा नवीनले टोलीको अग्रता दोब्बर बनाए। अमितले २३औं मिनेटमा व्यक्तित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ६१औं मिनेटमा अमितले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। यसअघि उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिकाका अरूण लामाले ह्याट्रिक गरेका थिए। उनले महालक्ष्मी नगरपालिकाविरुद्ध चार गोल गरेका हुन्। नवीनले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै दक्षिणकालीलाई ५–० को सहज जित दिलाए।
जितसँगै ललितपुरले समूह ‘ए’ मा तीन अंक जोडेको छ। बागमतीले हारबाट यस प्रतियोगिता सुरु गरेको छ। ललितपुरको जितमा रफिल महर्जन र नीरज महर्जनले समान दुई तथा सनी व्यञ्जनकार, विशाल बानियाँ र अनमोल बस्नेतले समान एक गोल गरे। बागमतीका लागि वसन्त घलानले दुई तथा झलक सन्जेलले एक गोल फर्काए। खेलको पहिलो मिनेटमै रफिलको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो। १७औं मिनेटमा वसन्तले बागमतीलाई बराबरीमा ल्याए।
सनिले १९ र नीरजले २०औं मिनेटमा गोल गरे। यसपछि ललितपुर ३–१ ले अगाडि बढ्यो। २६औं मिनेटमा वसन्तले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीको अन्तर ३–२ मा छोट्याए। रफिलले ३३औं र नीरजले ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ५–२ को अग्रता दिलाए।
विशालले ४०औं मिनेटमा गोल गर्दै ललितपुरले पहिलो हाफमै ६–२ को आरामदायी अग्रता बनायो। ललितपुरले दोस्रो हाफमा भने एक गोल मात्र थप्न सक्यो। अनमोलले ४९औं मिनेटमा गोल गरे। ललितपुरको अग्रता ७–१ मा पुग्यो। ७७औं मिनेटमा झलकले बागमतीका लागि तेस्रो गोल गरे। यससँगै बागमतीले अग्रता ७–३ मा छोट्याए पनि हार टार्न सकेन।
प्रकाशित: २३ वैशाख २०८२ ०८:४० मंगलबार





