कोसी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ऐतिहासिक जित निकाल्दै एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता एमएम कपमा सुखद सुरुआत गरेको छ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको समूह ‘बी’ पहिलो खेलमा कोसीले पुलिसलाई ३७ रनले हराएको हो। कोसीले पुलिसमाथि पहिलोपल्ट जित निकाल्यो। कोसीले ९४ रनको झीनो लक्ष्य दिएको थियो। जबाफमा पुलिस २४.५ ओभरमा ५६ रनमा नै अलआउट हुन पुग्यो।
पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। शीर्ष क्रमका ब्याटर रोहन विकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दीपक डुम्रेले १, अमित श्रेष्ठले ९ रन बनाए। अरूण ऐरी खाता नखोली आउट भए। कोसीका बलरले सुरुदेखि नै दबाबमा राखे। पुलिस ३४/६ को अवस्थामा थियो।
त्यसपछि कोसीले पुलिसलाई खेलमा फर्कन दिएन। कोसीको बलिङमा प्रेम कामत एक्लैले पाँच विकेट लिए। डेब्यु गरेका देब्रे हाते स्पिनर प्रेमले ९ ओभरमा तीन मेडन राख्दै १५ रन मात्र दिए। उनी प्लेयर अफ द म्याच पनि घोषित भए। अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले तीन विकेट लिए। उनले ९ ओभरमा १६ रन मात्र खर्चिएर दुई मेडन राखे। भुपाल लुइँटेलको नाममा एक विकेट रह्यो। पुलिसले एक विकेट रनआउटमार्फत गुमाउन पुग्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको कोसीले २९.३ ओभरमा ९३ रनमा सबै विकेट गुमाएको थियो। ओपनर रूपक बरालको २१ रन नै कोसीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।
मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाए। पुलिसको बलिङमा मध्य गतिका बलर सुनिल दौल्यालले पाँच विकेट लिए। उनले ८ ओभरमा मात्र २५ रन खर्चिए। बिपिन खत्री र चित्र विष्टले समान दुई विकेट लिए। समूह ‘बी’ को दोस्रो खेलमा बुधबार कोसीले भारतको आसाम क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ।
कोसीले आसामलाई पराजित गरे फाइनलमा स्थान पनि बनाउनेछ। आसामले कोसीलाई पराजित गरेमा भने बिहीबार हुने आसाम र पुलिसविरुद्धको खेलले फाइनल पुग्ने टोलीको निर्धारण गर्नेछ। समूह ‘ए’ को विजेताको रूपमा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ।
यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ती टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ। समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समूह ‘बी’ मा पुलिस क्लब, कोसी प्रदेश र भारतको आसाम क्रिकेट टिम छन्। प्रतियोगिताको विजेता टोलीले चार लाख नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ।
उपविजेता टोलीले दुई लाख नगदसहित ट्रफी पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार पाउँछन्। प्लेयर अफ द म्याचले भने चार हजार नगदसहित ट्रफी पाइरहेका छन्।
प्रकाशित: १७ वैशाख २०८२ ०७:२९ बुधबार





