लन्डन मेयरका सादिक खानले आफ्नो सहर चौथोपल्ट ओलम्पिक आयोजक बन्ने लक्ष्यसहित २०४० को ओलम्पिक आयोजनाको दाबेदारी प्रस्तुत गर्ने बताएका छन्।
सन् २०१६ देखि लन्डनको मेयर रहेका खानले ब्रिटिसको सहर लन्डनलाई विश्वकै स्पोर्टिङ राजधानीको रूपमा विकास गर्न अगाडि बढाउने महत्त्वाकांक्षा राखेका हुन्। विश्व एथलेटिक्स च्याम्पियनसिप २०२९ को सफल दाबेदारीपश्चात् लन्डनलाई २०१२ पछि लन्डनमा ओलम्पिक खेल फर्काउने आधार बन्ने उनको विश्वास छ। किनकि विश्व एथलेटिक्स लन्डनमा फर्कनुलाई पनि ठूलो सफलतका रूपमा हेरिएको छ। अहिलेसम्म लन्डन र पेरिसले तीनपल्ट समर ओलम्पिक आयोजना गरिसकेका छन्। लस एन्जलसले पनि तेस्रोपल्ट नै सन् २०२८ को ओलम्पिक आयोजना गर्दै छ। २०३२ को ओलम्पिक ब्रिसबेनमा हुने तयारी रहँदा २०३६ ओलम्पिक भारत या मध्य एसियाले गर्न सक्छ।
यस्तो स्थितिमा २०४० को ओलम्पिक फेरि लन्डनमा नै फर्कन सक्ने आधार पनि मान्न सकिन्छ। ‘लन्डन सहरले चौथोपल्ट ओलम्पिक आयोजना गरोस् भन्ने मेरो चाहना र लक्ष्य छ,’ लन्डनका मेयर खानले एक अन्तर्वार्ताका क्रममा भने, ‘यदि हामीले सन् २०२९ को विश्व च्याम्पियनसिप लन्डनमा गर्यौं भने यसले ओलम्पिक आयोजना गर्न पनि ऊर्जा प्रदान गर्नेछ। ट्य्राक एन्ड फिल्डमा पनि मो फराह र पाउला रासक्लिफेसजस्ता भविष्य यसले उत्पादन गर्ने माध्यम सिर्जना गर्न सक्छ,’ दुई विश्वस्तरीय धावकको उदाहरण दिँदै खानले भने। आफू पेरिस ओलम्पिकबाट प्रभावित पनि भएको उनले उल्लेख गरेका छन्। अहिले भएका सुविधाले गर्दा लन्डनलाई थप यादगार बनाउन सक्ने पनि उनको विश्वास छ।
‘गत समर ओलम्पिकमा पेरिस गएको थिएँ। त्यो सहरमा ठूलो परिवर्तन हेरेँ। ओलम्पिक आयोजनाले पेरिसलाई नयाँ उचाइमा पुर्यायो,’ उनले भने, ‘हामीसँग पनि ओलम्पिक पार्क, एक्वाटिक्सका लागि आवश्यक स्रोतसाधन र ओलम्पिक आयोजना गर्न आवश्यक अन्य पूर्वाधार पनि छन्। यसले थप स्तरीय आयोजना गर्न सहजता मिल्नेछ।’
लन्डनका मेयर खानले केही खेल यो सहरभन्दा बाहिर गरे पनि लन्डनलाई नै हबका रूपमा अगाडि बढाउने बताएका छन्। उत्कृष्ट र कम खर्चमा ओलम्पिक आयोजना गर्न सकिने भएकाले पनि सन् २०४० मा यो सहरमा ओलम्पिक आयोजनाको प्रस्ताव अगाडि बढाइएको उनको भनाइ छ।
सोमबार सार्वजनिक भएको एक रिपोर्टमा पनि गत वर्ष मात्र लन्डनमा च्याम्पियन्स लिग फाइनलसहित ६ वटा विश्वस्तरीय आयोजना भएको थियो। यस क्रममा यो सहरले तीन सय ८ मिलियन डलर आर्जन गरेको र करिब पाँच लाखभन्दा बढी खेल समर्थक बढाएको छ।
विश्व एथलेटिक्स आयोजना गर्न ब्रिटेस सरकारले पनि ४५ मिलियन पाउन्ड आर्थिक सहयोग गर्न आवश्यक रहेको एक रिपोर्ट सार्वजनिक भएको छ। लन्डनले सन् २०१७ मा पनि विश्व एथलेटिक्स च्याम्पियनसिप गरेको थियो।
प्रकाशित: १७ वैशाख २०८२ ०६:५७ बुधबार





