विभागीय टोली त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।
डिफेन्डिङ च्याम्पियन आर्मीले समुह 'ए' अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। दुवै खेलमा जित दर्ता गर्ने क्रममा आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो। दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपीएफ समूह चरणबाटै बाहिरिएको छ ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
आर्मीको जितमा निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाए । हिमांशु दत्ताले १८ रनको योगदान गरे ।
बागमतीको बलिङमा दयानन्द मण्डलले २ विकेट, तिलक राज भण्डारी र आदील खानले एकएक विकेट लिए।
वर्षाका कारण आउटफिल्ड भिजेकाले २६ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले २४.३ ओभरमा ९६ रनमा सबै विकेट गुमायो।
बागमतीको ब्याटिङमा सचिन लेखकले सर्वाधिक ३४ रन योगदान दिए। प्रतिक श्रेष्ठले १५ तथा आदील खानले १० रन बनाए।
आर्मीको बलिङमा नरेन साउदले सर्वाधिक ५ विकेट लिए। दुर्गेश गुप्ताले २ विकेट झारे ।
प्रतियोगिता अन्तर्गत मंगलबार समूह 'बि' अन्तर्गतको खेलहरु सुरु हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोलि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १५ वैशाख २०८२ १८:०६ सोमबार





