अपराजित रहँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा उपाधि रक्षा गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ ले हराउँदै उपाधि रक्षा गरेको हो। पोखरा पहिलोपल्ट फाइनलमा पुगे पनि उपाधि जित्न भने असफल रह्यो। राष्ट्रिय टोलीका महत्त्वपूर्ण डिफेन्डर अनन्त तामाङको कप्तानीमा ललितपुर लगातार दोस्रोपल्ट उपाधि जित्न सफल भयो।
चोटका कारण पहिलो संस्करण खेल्न नपाएका अनन्तका लागि दोस्रो र तेस्रो संस्करण भने यादगार बनेको छ। उपाधि रक्षा गर्ने क्रममा ललितपुर लगातार ११ खेलसम्म अपराजित छ। ललितपुर यस संस्करणमा आठ खेल र पछिल्लो संस्करणमा तीन खेलमा गरी कुल ११ खेलसम्म अपराजित रह्यो।
यसपल्ट पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गरेको ललितपुरले फाइनलमा पनि त्यो लय जारी राख्यो। जसले गर्दा पोखराको उपाधि जित्ने सपना पूरा भएन। यससँगै यस सिजन ललितपुरले दोस्रोपल्ट पोखरालाई हरायो। यसअघि लिगमा पनि ललितपुरले पोखरालाई ३–२ को गोलअन्तरले हराएको थियो। जुन लय फाइनलमा पनि जारी रह्यो। यस सिजनमा उत्कृष्ट पुनरागमन गरेको पोखराले पनि फाइनलमा राम्रो प्रदर्शन गर्यो।
पहिलो दुई खेलमा हार बेहोरेपछि पोखराको सुरुआत राम्रो भएको थिएन। तर, त्यसपछि भने लगातार सुधारिएको प्रदर्शन गर्दै पोखराले फाइनलसम्म यात्रा तय गरेको हो। यस क्रममा पोखराले दोस्रो क्वालिफायरमा दुई पल्टको उपविजेता धनगढी एफसीविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो।
फाइनल पनि उसले बल पोसेसन पकडमा राख्दे अपराजित टोली ललितपुरलाई चुनौती दिने प्रयास गर्यो। पछाडि परेको स्थितिमा गोल पनि फर्काए पनि समालिन नसक्दा उपाधि जित्ने असफल भयो। ललितपुर सिटीको जितमा इमोह इजेकिइल र पापा इबोउ केबेले गोल गरे। पोखराका लागि सुदिल राईले गोल फर्काएका थिए। खेलको पहिलो हाफमा ललितपुरले एक गोल गरेको थियो।
दोस्रो हाफमा पोखराले गोल गर्दै खेलमा फर्कने संकेत गर्यो। तर, ललितपुरले दोस्रो गोल गर्दै लक्ष्य पूरा हुन दिएन। उपाधिसँगै ललितपुर सिटीले ८० लाख रूपैयाँ पाउँदा पोखराले ३० लाख रूपैयाँ प्राप्त गर्यो। तुलनात्मक रूपमा पहिलो हाफमा पोखराले बढी अवसर सिर्जना गर्यो।
यद्यपि, ललितपुर गोल गर्न सफल रह्यो। त्यसअघि खेलको १४औं मिनेटमा पापाको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो। २३औं मिनेटमा पोखराले अग्रता लिने प्रयास गर्यो। सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन।
२७औं मिनेटमा पोखराले फेरि अवसर गुमायो। जो आइडोको फ्रिकिकमा स्टेफन समिर बिनोङको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिन पुग्यो। ३४औं मिनेटमा पोखराले अवसर बुन्यो। आयुषले दिएको थ्रु पासमा स्ट्राइकर बिनोङले प्रहार गर्न समय लगाउँदा गोल गर्न सफल भएनन्।
त्यो बल ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले क्लियर गरिदिए। तर, ललितपुरले ४२औं मिनेटमा गोल गर्दै अग्रता लियो। पोखराका गोलकिपर प्रिसो सजग नहुँदा ललितपुरले गोल गरेको हो। मनोज राईको क्रसलाई गोलकिपर प्रिसोले जम्प गरेर पन्चगर्न खोजे। तर, उनी सफल नहुँदा पापाले हेडरमार्पmत बललाई जाली चुमाए।
यो गोलले नै पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो। दोस्रो हाफमा पोखराले गोल फर्काए पनि जोगाउन भने सकेन। ६४औं मिनेटमा सुदिलले पोखरालाई खेलमा फर्काए। पदम भट्टराईको क्रसमा बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोके।
तर, रिबाउन्ड बललाई सुदिलले गोलमा परिणत गरेका हुन्। ललितपुरका डिफेन्डर सनिश श्रेष्ठले उनलाई रोक्ने प्रयास गरे पनि सफल भएनन्। सुदिलको यो दोस्रो गोल पनि हो। तर, ११ मिनेटपछि नै ललितपुर पुनः खेलमा फर्कियो। इजेकिइलले पेनाल्टी बक्सनजिकबाट दिएको बललाई पापाले नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका हुन्।
पोखराका दुई डिफेन्डरका बीचबाट उनले गोल गरे। पापाको पनि यो दोस्रो गोल हो। यसपछि पोखरा र ललितपुरका खेलाडीबीच हात हालाहालको स्थिति पनि भयो। तर, भारतीय रेफ्री राम दासले त्यो नियन्त्रणमा राखे। यस संस्करणमा यसअघि भएका विवादको घटना भने उनले दोहोरिन दिएनन्।
खेलमा फेरि पछि परेपछि पोखराले गोल गर्ने प्रयास गरेको थियो। तर, सफलता पाउन भने सकेन। अग्रता लिएपछि ललितपुरले भने रक्षात्मक खेल्दै काउन्टर रणनीति बुनेको थियो। तर, काउन्टरमा अवसर पनि बनायो। तर थप गोल भने गर्न सकेन र ललितपुरले २–१ को जित निकाल्यो। यस संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये झापा एफसी र बुटवल लुम्बिनी भने जितविहीन हुँदै लिगचरणमा यात्रा टुङ्गाउन बाध्य भए। झापाले लिगका ६ खेलमध्ये पाँच खेल बराबरी गरे पनि प्लेअफमा पुग्न असफल रह्यो। श्रम स्विकृति बिना नै खेलाडीलाई खेलाउँदा यस संस्करण केही विवादित पनि बन्यो।
साथै रातो कार्ड पाएपछि अपीलमार्फत त्यो निर्णय फिर्ता हुँदा यस संस्करणले नेपाली फुटबलमा नयाँ सुरुआत पनि गरायो। पहिलो क्वालिफायरमा मणिकुमार लामाले रातो कार्ड पाएका थिए। तर, ललितपुरले त्यो निर्णयविरुद्ध अपील गर्यो। जुन अपीलमा एनएसएलले मणिको रातो कार्ड नभएको निर्णय दियो। तर, एनएसएलले भने अधिकारिक रूपमा को को सदस्य रहेको अपील कमिटीले मणिमाथिको रातो कार्ड फिर्ता गरेको सार्वजनिक भने गरेन। यस संस्करणमा अधिकांश टोलीले रेफ्रीको निर्णयविरुद्ध लगातार प्रश्न उठाउँदै एनएसएलको स्तर बढ्न नसकेको प्रतिक्रिया पनि दिए। तर, विवाद र प्रश्नै प्रश्नका बीच शनिबार २५औं प्रतिस्पर्धामार्फत एनएसएलको तेस्रो संस्करणले विजेता पाएको छ। पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो।
आयुष सर्वोत्कृष्ट
पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
पोखरालाई फाइलनसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मिडफिल्ड आयुष सर्वोत्कृष्ट खेलाडी भएका हुन्। उपाधिबाट बञ्चित भए पनि उनको प्रदर्शन भने तारिफयोग्य नै रह्यो। यद्यपि, यस संस्करण आयुषले एक गोल मात्र गरे।
सर्वोत्कृष्ट खेलाडी घोषित आयुषले दुई लाख ५० हजार रूपैयाँ प्राप्त गरे। ललितपुरका मणिकुमार लामा इनर्जेटिक खेलाडी, ललितपुरकै सन्तोष खत्री उदीयमान खेलाडी, पोखरा प्रिसो उत्कृष्ट गोलकिपर र धनगढीका अहमद हिजाजी सर्वाधिक गोलकार्ता (५ गोल) बने।
झापा एफसीले फेयरप्ले अवार्ड प्राप्त गर्यो। मणिले एक गोल र दुई एसिस्ट गरेका थिए। धनगढीविरुद्ध पहिलो क्वालिफायरमा रातो कार्ड सामना गरेपछि उनी यस संस्करण थप चर्चामा पनि रहे। सन्तोषले भने एक गोल गरे। प्रिसोले पाँच क्लिन सिट राखे। विधागत उत्कृष्टले समान एक लाख रूपैयाँ प्राप्त गरे।
प्रकाशित: १४ वैशाख २०८२ ०८:५३ आइतबार