२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

आइतबारदेखि बाङ्लादेशसँग महिला कबड्डी शृंखला

नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले आगामी आइतबारदेखि घरेलु भूमिमा बाङ्लादेशसँग पाँचदिवसीय शृंखला खेल्ने भएको छ।

अखिल नेपाल कबड्डी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै बाङ्लादेशसँग नेपालको पाँचदिवसीय शृंखला खेल्ने घोषणा गरेको हो। वैशाख १२ गतेसम्म हुने शृंखलाका खेलहरू सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा हुने भएको छ।

कबड्डी संघका महासचिव अरविन्दकुमार झाले कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा बाङ्लादेशसँग शृंखला खेल्न लागेको उल्लेख गरे। नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ।

नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो। त्यति बेला बाङ्लादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो। त्यसपछि पहिलोपल्ट बाङ्लादेशसँग नेपालले खेल्न लागेको हो।

बाङ्लादेश कबड्डी संघसँग हरेक वर्ष तीनवटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ। यसअघि नै नेपाली पुरुष टोलीले भने बाङ्लादेश भ्रमण गरिसकेको छ। उक्त पाँच खेलको शृंखलामा बाङ्लादेशले ४–१ को जित निकालेको थियो। यस शृंखला एसिया कबड्डी महासंघको मान्यतामा हुन लागेको हो। कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट शृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले जनाएको छ।

बाङ्लादेशको टोली आगामी शनिबार नेपाल आउने कार्यक्रम रहेको छ। सोही दिन नै ट्रफी सार्वजनिक हुने भएको छ। संघले पछिल्लो दुई वर्षयता नियमित रूपमा नेपाली पुरुष र महिला कबड्डी टोलीलाई मूलपानीमा बन्द प्रशिक्षणमा राखेको छ। नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ।

नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारीमा पनि छ। यसैको तयारीस्वरूप नेपालले बाङ्लादेशसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलाको पहिलो खेल वैशाख ७ गते, दोस्रो वैशाख ८ र तेस्रो खेल वैशाख ९ गते हुनेछन्।

त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ। वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ। शुक्रबार संघले पत्रकार सम्मेलनमार्पmत आगामी एक वर्षका लागि सञ्चारकर्मी तथा मोडल बिभूषा बस्नेतलाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

प्रकाशित: ६ वैशाख २०८२ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App