१ असार २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा

बुटवलविरुद्ध बल अगाडि बढाउँदै पोखराका आयुष घलान। तस्बिर: नागरिक

पोखरा थन्डर्सले लिगको अन्तिम खेलमा मंगलबार बुटवल लुम्बिनी एफसीमाथि सानदार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो। पोखराको जितमा आयुष घलान र विलियम बियासीले गोल गरे। जितसँगै पोखराले ६ खेलबाट आठ अंक जोड्दा बुटवलले एक अंकसहित तेस्रो सिजनको यात्रा टुङ्ग्याएको छ। यो नतिजापछि झापा एफसी अन्तिम खेल बाँकी छँदा नै प्लेअफ सम्भावनाबाट बाहिरिएको छ।

झापाको पाँच खेलबाट चार अंक छ। अब ६ खेलबाट आठ अंक जोडेको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली क्वालिफायरमा पुग्नेछन्। चितवनले लिगको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ।

यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ। पराजित भए चितवन तेस्रो सिजन पनि लिगचरणबाटै बाहिरिनेछ। बुटवलले एक मात्र बराबरी प्राप्त गर्दा पाँच खेलमा हार बेहोर्‍यो। ललितपुर सिटी एफसी र धनगढी एफसीले पहिलो क्वालिफायरमा स्थान बनाइसकेका छन्। तेस्रो संस्करणको प्लेअफमा पुग्ने पोखरा तेस्रो टोली हो।

अब चितवन र काठमाडौंमध्ये एक टिम प्ले अफमा पुग्नेछ। काठमाडौंले ६ खेलबाट ८ अंक बनाएको छ। चितवनसँग सात अंक छ र अब अन्तिम खेलमा धनगढीसँग खेल्नेछ। उक्त खेलमा चितवनले जित र बराबरीमा प्लेअफमा स्थान बनाउनेछ। चितवन हारेमा काठमाडौं प्ले अफमा पुग्नेछ। ललितपुरले भने झापासँग खेल्नेछ।

मंगलबार पोखराविरुद्ध बल पोसेसनमा बुटवल हाबी भए पनि जित निकाल्न भने सकेन। खेलको १०औं मिनेटमा नै पोखराले अग्रता बनायो। समीर तामाङले दिएको पासमा बक्सभित्र अनमार्क आयुषले हेडरमार्फत गोल गरे। एक मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोस्टनजिकैबाट बाहिरियो। २२औं मिनेटमा पोखराले अर्को अवसर गुमायो।

आयुषको पासमा गोलकिपर दीप कार्कीसँगको वान भर्सेस वानमा समीर चुके। उनको प्रहार दीपले खुट्टाले रोकिदिए। खेलमा पोखरा एकपक्षीय हाबी थियो। २९औं मिनेटमा जो आइडुको लामो पासमा नवयुगको हेडरलाई गोलकिपर दीपले पन्च गरेर बचाए। लगत्तै ३२औं मिनेटमा नवयुगको क्रसमा समीरले नियन्त्रणमा लिँदै हानेको प्रहार बाहिरियो।

३५औं मिनेटमा आयुषको कर्नरमा स्टेफन समिर बिनोङले दुई डिफेन्डरलाई बिट गर्दै दिएको सटीक पासमा साडिस्टोन जाफारोभले नजिकैबाट गरेको लेफ्ट फुटेट सटलाई गोलकिपर दीपले सहजै नियन्त्रणमा लिए। यससँगै पहिलो हाफमा पोखरा १–० ले अगाडि रह्यो।

५८औं मिनेटमा जो आइडोले बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलकिपर दीपले डाइभ गर्दै मुस्किलले बचाए। तर, यहींबाट प्राप्त कर्नरमा भने पोखराले गोल गर्‍यो। नवयुगको कर्नरमा बियासीको हेडरले सही दिशा लियो।

पोखरा २–० को अग्रता बनाउन सफल भयो। इन्जुरी समयमा बुटवलका मनीष डाँगीको प्रहारलाई गोलकिपर प्रिसोले रोके। रिबाउन्डमा केन्टा हाराको प्रहार बाहिरिन पुग्यो। यसपछि पनि गोल निस्किएन र पोखराले २–० को जित निकाल्यो। यससँगै बुटवलले जितविहीन रहेर तेस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ।

लिगको ६ खेलबाट पोखराले दुई जित, दुई बराबरी र दुई हारको नतिजा निकाल्यो। काठमाडौं रेजर्सको पनि समान ८ अंक छ। तर, गोलअन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै पोखरा अंकतालिकाको तेस्रो स्थानमा उक्लियो। पहिलो दुई खेलमा हारका बावजुद पोखराले सानदार पुनरागमन गरेको हो। बुटवल जितविहीन हुँदै अंकतालिकाको पुछारमा रहँदै बाहिरियो।

प्रकाशित: ३ वैशाख २०८२ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App