१ वैशाख २०८२ सोमबार
image/svg+xml १६:४४ अपराह्न
खेल

आर्मीका होमलाल त्रिशूली अल्ट्रा रेस च्याम्पियन

अन्तिम सात किलोमिटरमा गति सुधार गर्दै विभागीय टोली नेपाल आर्मीका धावक होमलाल श्रेष्ठ शनिबार त्रिशूली अल्ट्रा रेस च्याम्पियन भएका छन्।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित ५५ किलोमिटर अल्ट्रा रेसमा पुरुषतर्फ होमलाल च्याम्पियन भएका हुन्। महिलातर्फ सुनसरी रोकायाले सफलता पाइन्। ४८ किलोमिटरसम्म आर्मीका गोपाल तामाङ र अर्जुन कुलुङ राई अगाडि थिए। तर, अन्तिम सात किलोमिटरमा भने होमलालले आफ्नो गतिमा सुधार गरे। ‘रुटमा केही समय अलमलमा पर्दा पछि परेँ।

त्यतिबेला उहाँहरू (गोपाल र अर्जुन) धेरै अगाडि हुनुहुन्थ्यो। तर, रुटको केही भाग रोड पनि परेका थिए। म्याराथनमा मेरो अनुभव भएकाले रोड आएपछि मैले त्यसको फाइदा लिएँ। यहाँबाट नै अग्रता लिएको हुँ,’ जितपछि होमलालले भनेका थिए।

अन्ततः होमलाल निर्धारित दूरी चार घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गर्न सफल रहे।

आर्मीकै गोपाल तामाङ चार घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोस्रो भए। उपाधि दाबेदारका रूपमा हेरिएका सोलुखुम्बुका अर्जुन तेस्रो स्थानमा रहे। उनले चार घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा उक्त यात्रा पूरा गरे। शीर्ष तीन स्थानका होमलाल, गोपाल र अर्जुनले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कारसँगै ट्रफी पाए।

आर्मीका तिलकबहादुर सुनुवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपिएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नबिल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए। यो अल्ट्रा रेस प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको हो।

यसै रेसको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन्। खोटाङकी निर्मला राई र पुलिसकी लाक्पानिमा शेर्पा क्रमशः दोस्रो र तेस्रो भए। निर्मलाले ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाइन्।

पुलिसकी लाक्पानिमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन्। महिलामा पनि शीर्ष तीन स्थानका यी खेलाडीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कारसँगै ट्रफी पाए। पुरुष र महिला दुवैमा चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही तीन हजार रूपैयाँ प्राप्त गरे।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामी लगायतले पुरस्कृत गरे।

यसअघि प्रतियोगिताको मुख्यमन्त्री लामाले नै उद्घाटन गरेका थिए। सो अवसरमा मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनै पनि क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै महासंघले खप्तडमा बृहत् अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताए।

उनले त्रिशूली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अझ बृहत् स्वरूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त रेस नुवाकोटको ९ कोटमध्ये एउटा क्षेत्र बेलकोटगढीबाट सुरु भएको थियो। त्यहाँबाट मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो। दौडमा तीन विदेशी खेलाडीसहित एक सय २५ धावकले प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: २४ चैत्र २०८१ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App