२७ चैत्र २०८१ बुधबार
image/svg+xml १७:२५ अपराह्न
खेल

नेपाल सुपर लिग: चितवनलाई दोस्रो सफलता

बुटवलविरुद्ध बल अगाडि बढाउँदै चितवनका टोरिक जेब्रिन। तस्बिर: नागरिक

टोरिक जेब्रिनले इन्जुरी समयमा गरेको गोल नै निर्णायक भएपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ।

अट्याकिङ मिडफिल्डर टोरिकको गोल प्रेरित चितवनले शुक्रबार बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै जारी एनएसएलमा दोस्रो जित निकालेको हो। त्रिपुरेश्वरस्थित दशशरथ रंगशालामा जारी तेस्रो संस्करणको सातौं दिन निर्धारित समय गोल हुन सकेको थिएन। तर, इन्जुरी समयमा भने गोल निस्कियो।

दुई सुन्दर फ्रिकिक गोलमा परिणत नहुँदा खेल बराबरी उन्मुख भएको थियो। तर, जेब्रिनले इन्जुरी समयमा बक्सबाहिरबाट गरेको लोअर प्रहार गोलमा परिणत भयो। जेब्रिनको लेफ्ट फुटेड प्रहार बुटवलका गोलकिपर दीप कार्कीलाई बिट गर्दै दोस्रो बारको जाली चुम्न पुग्यो।

चितवनले लगातार दोस्रो जितसहित ६ अंक जोडेको छ। यससँगै चितवन लिगको अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सविरुद्ध २–० को जित निकालेको थियो। पछिल्ला दुई संस्करण प्लेअफमा पुग्न असफल चितवनले यसपल्ट भने सुखद नतिजा ल्याउने संकेत गरेको छ।

दुई संस्करणमा गरेर चितवनले दुई जित मात्र निकालेको थियो। पहिलो संस्करणमा भने चितवन जितविहीन नै बन्नुपरेको थियो। तर, यसपल्ट प्लेअफमा पुग्ने लक्ष्य राखेको चितवनले सोहीअनुरूप प्रदर्शन पनि गरेको छ। सात टोली मात्र सहभागी तेस्रो संस्करणमा आगामी खेलमा पनि जित निकाल्न सके चितवनलाई प्लेअफको दाबेदारका रूपमा पनि हेरिनेछ।

यता, बुटवल भने लगातार तेस्रो खेलमा जितविहीन बनेको छ। बुटवल एक अंकका साथ छैटौं स्थानमा यथावत् रह्यो। यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो। तर, दोस्रो खेलमा भने धनगढी एफसीसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि बुटवल दबाबमा थियो।

तेस्रो खेलमा पनि अन्तिम समयमा समालिन नसक्दा बुटवलले अर्को हार सामना गर्नुपरेको छ। यससँगै बुटवलको प्लेअफ सम्भावना पनि कमजोर देखिएको छ। बुटवलसँगै पोखरा थन्डर्सले पनि समान दुई हार नै सामना गरेको छ। यद्यपि, बुटवलले शुक्रबार चितवनविरुद्ध चुनौती प्रस्तुत गरेको थियो।

खेलको ४०औं मिनेटमा बुटवलले खेलमा अग्रता लिने सुन्दर अवसर बनाएको थियो। चितवनका मिडफिल्डर रोशन रानामगरले प्रदीप लामालाई लडाएपछि बुटवलले फ्रिकिक प्राप्त गर्‍यो। तर, कप्तान एरिक विष्टले ३० यार्डबाट गरेको प्रहार बारमा ठोक्किएर रिबाउन्ड हुन पुग्यो। रिबाउन्ड बललाई बुटवलका खेलाडीले सदुपयोग गर्न सकेनन्। त्यसपछि पहिलो हाफमा थप उत्कृष्ट अवसर सिर्जना हुन सकेनन्।

पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। दोस्रो हाफको सुरुआतमा पनि चितवनले चुनौती दियो। ५४औं मिनेटमा चितवनका मिडफिल्डर नोदिर माभ्लोनोभको सुन्दर सेटपिसलाई गोलमा परिणत गर्न सकेनन्। उनको शक्तिशाली प्रहारलाई दीपले फिंगर टिपबाट उत्कृष्ट बचाउ गरेका थिए। त्यो बल बारमा पनि लागेर फर्किन पुग्यो।

चितवनले ७६औं मिनेटमा अर्को मौका पनि गुमायो। युसुफ मलिकको पासमा भिक्टर मानसारेले दोस्रो बारमा हानेको प्रहार सुमन श्रेष्ठले हेडर गर्दै ब्लक गरिदिए। निर्धारित ९०औं मिनेटको खेल गोलरहित बराबरीमा सकियो। तर, थप समयको १२ मिनेटमा खेलले नयाँ मोड लियो।

दोस्रो मिनेटमा नै टोरिकले गोल गरे। उनले पेनाल्टी बक्सबाहिरबाट हानेको सशक्त प्रहार गोलमा परिणत भयो। चितवनले १–० को अग्रता बनायो। मलिकले हानेको प्रहार भने गोलकिपर दीपले बचाएका थिए। तर, टोरिकको प्रहार भने दीपले रोक्न सकेनन्।

चितवनले १–० को जित निकाल्यो। शनिबार दुई खेल हुनेछन्। पहिलो खेल पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच हुँदा दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन्। 

प्रकाशित: २३ चैत्र २०८१ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App