२७ चैत्र २०८१ बुधबार
image/svg+xml २१:१ अपराह्न
खेल

काठमाडौं र झापा गोलरहित बराबरीमा

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा काठमाडौं रेजर्स र झापा एफसीले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा गोलरहित बराबरी खेलेका छन्।

दुवै टोलीले लगातार दोस्रो खेलमा जित हासिल गर्न नसकेपछि तीन अङ्कको खोजी अधुरै रहेको छ। पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीसँग २–२ को बराबरी खेलेको थियो भने झापाले बुटवल लुम्बिनीसँग गोलरहित नतिजा निकालेको थियो।

खेलको पहिलो हाफमा काठमाडौं आक्रमणमा हाबी देखियो भने दोस्रो हाफमा झापाले दबाब बनायो। पाँचौँ मिनेटमा काठमाडौंका मोहमेद बुया टुरेको पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार माथिल्लो बारमा लागेर बाहिरियो।

२७औं मिनेटमा जिलेस्पीजङ्ग कार्कीको प्रहार आकाशिँदा काठमाडौंले अर्को अवसर गुमायो। दोस्रो हाफको ४६औं मिनेटमा झापाका आर्सिक लाजेको १८ यार्डको सशक्त प्रहार काठमाडौंका गोलकिपर अभिशेक बरालले पन्च गरेर रोके।

६६औं मिनेटमा काठमाडौंका अमान्डो डियोपले जिलेस्पीको क्रसमा वान टच प्रहार गर्न चुके। झापाका अलहाजी गेरोले ७०औं मिनेटमा २५ यार्डबाट गरेको प्रहार पोस्टको दिशामा गएन।

८०औं मिनेटमा झापाका एरोन थापाको नजिकैबाट गरेको सट बारमा लाग्दा अग्रता लिने अवसर खेर गयो। खेलको अन्तिम समयमा लाकेन लिम्बूको लामो दूरीको प्रयास पनि असफल भयो। दुवै टोलीका आक्रमण सफल नहुँदा खेल बराबरीमा टुङ्गियो।

प्रकाशित: २१ चैत्र २०८१ २०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App