पोखरामा बैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय भवनको भलिबल कोर्टमा बैशाख १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
लायन्स क्लबले पहिलो पटक आयोजना गर्ने सो प्रतियोगितामा ६ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पाकिस्तान भलिबल क्लब (इस्लामाबाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब सहभागी हुने पक्का भएको क्लबका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार एक टिमको टुंगो लागिसकेको छैन । भारत र इरानका टिमहरूसँग सहभागिताका लागि छलफल भइरहेको भन्दै उनले यी दुई टिममध्ये कुनै एक टिम सहभागी हुने उनको भनाई छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नका लागि आफू गभर्नर रहेका बेला प्रतियोगिता गर्न लागेको अर्यालले बताए । मेरो पालामा सुरु भयो,उनले भने,'अब हरेक वर्ष यो प्रतियोगिता निरन्तर हुन्छ ।’ प्रतियोगितामार्फत युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर प्राप्त हुने आयोजकको विश्वास छ । 'प्रतियोगिताले पोखरालाई खेल पर्यटनको हबका रुपमा विकास गर्न सघाउँछ’–उनले भने ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ, टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूको सहकार्यमा हुने प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए । त्यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रकाशित: १४ चैत्र २०८१ १७:१४ बिहीबार