प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको हो ।
सुपर ओभरमा गण्डकीले २ विकेट गुमाएर २२ रन बनाएको थियो भने जवाफमा मधेशले बिना क्षति ९ रन मात्र बनाउन सक्यो ।
मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित ओभर सकिन एक बल बाकी छँदा २४६ रनमा अलआउट भएपछि निर्णय सुपर ओभरबाट लिइएको हो ।
गण्डकीका लागि अर्जुन कुमालको १०६ रनको उल्लेख्य पारी खेले । गण्डकीलाई अन्तिम बलमा २ रन चाहिएको थियो । इनिङ्सको अन्तिम बलमा विशाल पटेलले वाइड फालेपछि गण्डकी एक रन जोड्न सफल भयो। तर वाइड बलमा सन्दीप पराजुली रन आउट हुन पुगेपछि गण्डकी एक बल बाँकी छँदै अलआउट हुन पुग्यो ।
मधेशका लागि विशाल पटेलले ४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४६ रन बनाएको थियो ।
१७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहन विके र हरिशंकर साहले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे। रोहन ६४ र हरिशंकर ५१ रनमा आउट भए । विष्फोटक ब्याटिङ गर्दै रुपेश सिंगले ३२ बलमा अविजित ५१ रन बनाए।
बलिङमा विपिन खत्री र कमल परियारले समान २, अमृत गुरूङ र सन्दीप पराजुलीले समान १ विकेट लिए।
सोमबारको जितपछि गण्डकीले जारी प्रतियोगितामा मात्र ४ अंक जोड्न सक्यो । २ खेल बाँकी नै रहेको मधेशको ७ खेलबाट ४ अंक छ।
प्रकाशित: ११ चैत्र २०८१ १८:३४ सोमबार