१३ चैत्र २०८१ बुधबार
image/svg+xml २०:४० अपराह्न
खेल

पीएम कपः फाइनलको दौडमा तीन विभागीय टोली, एपीएफले गण्डकीलाई हरायो

प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले उपाधि दौड कायमै राखेका छन् । प्रतियोगितामा सहभागी १० मध्ये बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना भने समाप्त भएको छ।

आइतबार गण्डकी प्रदेशलाई ३१ रनले हराएसँगै एपीएफले पनि फाइनल यात्रा कायम राखेको हो । उसको ७ खेलबाट १० अंक भएको छ । जारी प्रतियोगितामा समान ८ खेल खेलेको पुलिस अपराजित छ भने आर्मीको १४ अंक छ ।  

एक्सट्रा टेक ओभल मैदानमा एपीएफले दिएको २५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनमात्र बनाउन सक्यो ।  

उसका लागि अर्जुन कुमालले सर्वाधिक ३९ र दिनेश बुढामगरले ३४ रन बनाए। खराब बलिङ प्रदर्शन गरेका एपीएफका बलरले गण्डकीलाई ३५ रन अतिरिक्त दिएका थिए ।  

बलिङमा एपीएफका अभिषेक गौतमले ३ र अमर राउटेलाले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको एपिएफ ४९.२ ओभरमा सबै विकेट गुमाएर २५८ रनको योगफल तयार गरेको थियो ।  

ओपनर लोकेश बम र आशिफ शेखले पहिलो विकेटको लागि १ सय २५ रनको साझेदारी गरे। लोकेश ४६ रनमा आउट हुँदा आशिफले ८० रन बनाए ।  

बलिङमा सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३ विकेट लिए। कमल परियारले २ विकेट आफ्नो नाममा लेखाए।

हारपछि गण्डकीको आठ खेलबाट मात्र २ अंक छ ।

प्रकाशित: १० चैत्र २०८१ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App