२४ चैत्र २०८१ आइतबार
image/svg+xml ९:३ पूर्वाह्न
खेल

आइपीएल: उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्दै, को बलियो ?

तस्बिर: एएफपी

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल गत वर्षको विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुनेछ।

टस केहीबेरमै हुनेछ भने खेल नेपालसमय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आईपीएलको इतिहासमा हेड टु हेड रेकर्ड हेर्दा कोलकाता आरसीबीमाथि हावी देखिन्छ।

दुवैबीच अहिलेसम्म ३५ खेल हुँदा २१ खेलमा कोलकाताले जित निकालेको छ भने आरसीबीले १४ खेल मात्र आफ्नो पक्षमा पारेको छ। इडन गार्डेन्समै दुवै टोली १२ पटक आमनेसामने हुँदा केकेआरले ८ पटक जित्दा आरसीबीले ४ पटक मात्र जित्न सफल भएको छ।

यो सिजन कोलकाताको कप्तानी श्रेयस अय्यर बाहिरिएपछि अनुभवी अजिंक्य रहाणेले सम्हालेका छन्। टोलीमा आन्द्रे रसेल, रमन्दीप सिंह र वेंकटेश अय्यरजस्ता विश्वस्तरीय अलराउन्डरहरू छन् भने बलिङतर्फ वरुण चक्रवर्ती, स्पेन्सर जोनसन, वैभव अरोरा र हर्षित राणाजस्ता उत्कृष्ट बलरहरू रहेका छन्।

आरसीबी सधैं बलिङमा कमजोर देखिँदै आएको भए पनि यसपटक टोलीमा जोश हेजलउड र भुवनेश्वर कुमारजस्ता खेल जिताउने क्षमताका बलरहरू थपिएका छन्। यद्यपि टोलीसँग अनुभवी स्पिनरको अभाव भने देखिन्छ र क्रुणाल पाण्ड्या नै सबैभन्दा अनुभवी स्पिनर रहनेछन्। आरसीबीले रजत पाटीदारलाई कप्तान बनाएको छ।

इडन गार्डेन्सको पिच ब्याटिङमैत्री मानिन्छ। यहाँ हालसम्म ९३ आईपीएल खेल भइसकेका छन्, जसमा पहिलो ब्याटिङ गर्ने टोलीले ३८ पटक र लक्ष्य पछ्याउने टोलीले ५५ पटक जित निकालेका छन्। यो मैदानमा अहिलेसम्मको उच्चतम टिम स्कोर २६२ रन रहेको छ। जुन पन्जाब किंग्सले गत वर्ष कोलकाताविरुद्ध बनाएको थियो।

प्रकाशित: ९ चैत्र २०८१ १९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App