२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:८ पूर्वाह्न
खेल

पीएम कपः दीपेन्द्र र ललित नायक बन्दा पुलिसको सहज जित

क्याप्टेन दीपेन्द्रसिंह ऐरी र स्पिनर ललितनारायण राजवंशी नायक बन्दा प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा पुलिसले बुधवार गण्डकी प्रदेशमाथि ७ विकेटको सहज जित दर्ता गरेको हो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा विष्फोटक ब्याटिङ गर्दै दीपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन जोडे । अर्जुन साउद १८ रनमा नटआउट रहे ।  

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रनमा अलआउट भएको थियो । अर्जुन कुमालले ४८ रन जोडे पनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा गण्डकी कम योगफलमा समेटिएको हो । 

पुलिसका लागि ललितले अर्को ५ विकेटको हल पूरा गरे । मात्र ५.२ ओभर बलिङ गरेका उनले ७ रन खर्चिएर ५ विकेट लिएका हुन् । ललितले एपिएफविरुद्ध ६, मधेशविरुद्ध ५ र सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । गुलशन झाको नाममा बुधबार ४ विकेट रह्यो ।

पुलिस खेलेको सबै ६ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा यथावत छ । गण्डकीको भने समान खेलबाट २ अंकमात्र छ ।

प्रकाशित: ६ चैत्र २०८१ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App