सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित दर्ता गरेको छ । बुधबार उसले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा किरण ठगुन्ना ४३ र कप्तान नारायण जोशी २५ रनमा नटआउट रहे ।
कप्तान जोशीसँग छैठौं विकेटका लागि किरणले ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिमको जित सुनिश्चित गरे । प्रकाश पाण्डेले २२ रनको योगदान गरे ।
लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान १ विकेट लिए ।
यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको सामान्य योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्वल थापाले ३० रन बनाएका थिए ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २ विकेट लिए ।
जितसँगै सुदूरपश्चिमको ६ खेलबाट ४ अंक भएको छ । पराजित लुम्बिनी ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।
प्रकाशित: ६ चैत्र २०८१ १५:४४ बुधबार